शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

शनिवार , भाद्र २७, २०८३

सल्यान,२७ भदौ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याइएकोमा बिहान १०ः२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरी निवासी ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्ले निवासी करिब १८ वर्षीया बिपना बुढाथोकी रहेका छन् ।

दुर्घटनामा घाइते हुनेमा त्रिवेणी–५ सिम्ख निवासी २४ वर्षीय चालक भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ निवासी करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् ।

घाइते चार जनाको प्रारम्भिक उपचार त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया