मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

मुगुमा पहिरोले बोलेरो पुरियो, यात्रु नहुँदा ठूलो दुर्घटना टर्‍यो

बुधवार , आश्विन २१, २०८३

मुगु,२१ असोज — छायाँनाथ रारा नगरपालिका–१२ अन्तर्गत सुनाता खोला नजिकै माथिबाट खसेको पहिरोले एक बोलेरो जिप पुरेको छ । जिपभित्र कोही सवार नभएका कारण घटनामा मानवीय क्षति भने हुन पाएन ।

बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप पहिरोको चपेटामा परेको हो । उक्त जिप विशाल खत्रीले चलाइरहेका थिए ।

घटनाको जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीका अनुसार रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्ने घटनास्थलमा टोली दिउँसो १ः२० बजे पुगेको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल आवश्यक सुरक्षा व्यवस्थापन गर्दै अवस्थालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पहिरो खस्ने समयमा बोलेरो जिपभित्र चालकसहित कुनै पनि व्यक्ति नरहेकाले सम्भावित ठूलो मानवीय क्षति टरेको हो । पहिरोले जिप पुरिएको भए पनि घटनामा कसैलाई चोटपटक लागेको विवरण प्राप्त भएको छैन ।

पहिरोमा पुरिएको बोलेरो जिपलाई बाहिर निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था तथा पहिरोका कारण भएको भौतिक क्षतिबारे थप विवरण संकलन भइरहेको छ । घटनासम्बन्धी थप जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया