शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपाको राहत अभियानमा मरिण गाउँपालिकाको सरकारी गाडी प्रयोग

शुक्रवार , भाद्र २६, २०८३

सिन्धुली,२६ भदौ – रसुवाका बाढी प्रभावित नागरिकका लागि राहत वितरण गर्ने क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को अभियानमा मरिण गाउँपालिकाको सरकारी सवारी साधन प्रयोग भएको विषय सार्वजनिक भएको छ । केही दिनअघि भएको उक्त राहत वितरण कार्यक्रममा गाउँपालिकाको सरकारी गाडी प्रयोग गरिएको र त्यसमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानसहित केही व्यक्तिहरू सहभागी भएको विवरण सार्वजनिक भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मोक्तान र चालक रोशन माझीले वाईसीएलको ज्याकेट लगाएर सरकारी गाडीमा यात्रा गरेको देखिएको बताइएको छ । सरकारी सवारी साधन सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सरकारी गाडीको प्रयोग सरकारी कामकाजका लागि मात्र गर्न पाइने व्यवस्था छ । व्यक्तिगत, राजनीतिक वा गैरसरकारी प्रयोजनका लागि सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।

राहत वितरण कार्य मरिण गाउँपालिकाको आधिकारिक कार्यक्रमअन्तर्गत भएको भए मात्र गाउँपालिकाको सवारी साधन प्रयोग गर्न सकिने अवस्था रहने भए पनि उक्त राहत वितरण नेकपा पार्टीको तर्फबाट गरिएको कार्यक्रम रहेको दाबी गरिएको छ । यस कारण सरकारी गाडी राजनीतिक गतिविधिमा प्रयोग भएको हो कि होइन भन्ने विषयमा प्रश्न उठेको छ ।

मरिण गाउँपालिकाका सूचना अधिकारी विवेक माझीले गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको जानकारी दिए पनि बाढी प्रभावित क्षेत्रमा अन्य राहत सामग्री भने गाउँपालिकाको तर्फबाट नपठाइएको बताएका छन् ।

गाउँपालिकाले आधिकारिक रूपमा राहत सामग्री नपठाएको अवस्थामा सरकारी सवारी साधन पार्टीको राहत अभियानमा प्रयोग भएको देखिएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । स्रोतका अनुसार उक्त गाडीमा नेका सिन्धुलीका ईन्र्चाज लेखनाथ दाहाल (राजन) सहित पार्टीका अन्य नेता तथा कार्यकर्ता समेत सवार थिए ।

सरकारी सम्पत्तिको प्रयोग सम्बन्धी नियमले सार्वजनिक स्रोतको उपयोग पारदर्शी, जिम्मेवार र उद्देश्यअनुकूल हुनुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीले सरकारी स्रोत साधन प्रयोग गर्दा कानुनी मापदण्ड र सार्वजनिक उत्तरदायित्वलाई ध्यान दिनुपर्ने मान्यता रहँदै आएको छ ।

यस विषयमा सम्बन्धित निकायबाट थप स्पष्टता आउन बाँकी छ । सरकारी सवारी साधनको प्रयोग कुन प्रयोजनका लागि गरिएको थियो भन्ने विषयमा छानबिन वा आधिकारिक धारणा आएपछि वास्तविक अवस्था थप प्रस्ट हुने देखिन्छ । स्रोत: सिन्धुली मंसिर चार

प्रतिक्रिया