शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ग्यास कालोबजारीको आरोपमा दुई व्यापारी पक्राउ

बिहिवार , भाद्र २५, २०८३

काठमाडौँ,२५ भदौ – खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले ग्यास बिक्रीमा अनियमितता गरेको आरोपमा दुई व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछे क्षेत्रमा सगर ग्यास बिक्री गर्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य रहेका छन्। उनीहरूलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साहले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँका दरले ग्यास बिक्री गर्ने गरेको सूचनापछि अनुसन्धान अघि बढाइएको थियो । नियमित मूल्यभन्दा बढी रकम असुलेर ग्यास बिक्री गरेको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूको गतिविधिमाथि निगरानी गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको जनाएको छ । टोलीले ७५ थान भरिएका हिमाल ग्यास सिलिन्डर तथा १४ थान सगर ग्यास सिलिन्डर नियन्त्रणमा लिएको हो ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । बरामद ग्यास सिलिन्डरको स्रोत, बिक्री प्रक्रिया र मूल्य निर्धारणसम्बन्धी विषयमा समेत थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

उपभोक्ताको दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाउँदै आएको छ । पक्राउ परेका दुई जनामाथिको अनुसन्धानपछि घटनाको वास्तविक अवस्था र कानुनी प्रक्रियाबारे थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया