सिन्धुली,२५ भदौ – जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभित्र सञ्चालित विकास योजना, सरकारी सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमहरूको प्रगति समीक्षा गर्न जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । सिन्धुलीमाढीमा बिहिवार सुरु भएको दुईदिने उक्त कार्यक्रममा जिल्लाका विकास गतिविधिको अवस्था, बजेट कार्यान्वयन, उपलब्धि, समस्या तथा आगामी सुधारका पक्षमाथि विस्तृत छलफल गरिने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको भौतिक पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले ब्यानर वाचन गरी कार्यक्रमको उदघाटन गरेका छन् । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा समितिका उपप्रमुख शान्ता कार्कीले स्वागत मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । जिल्लाको समग्र विकास प्रक्रिया, स्थानीय तहको कार्यसम्पादन तथा सरकारी निकायबाट प्रवाह भइरहेका सेवाको प्रभावकारिता मूल्यांकन गर्ने उद्देश्यले आयोजना गरिएको समीक्षा कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको छ ।
त्यसैगरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जिल्ला समन्वय अधिकारी तीर्थराज पौडेल, विभिन्न विषयगत सरकारी कार्यालयका प्रमुख, विकास आयोजना प्रमुख तथा सम्बन्धित सरोकारवालाहरू सहभागी छन् ।
समीक्षा कार्यक्रमको पहिलो दिन जिल्लाभित्र कार्यरत विभिन्न सरकारी निकाय तथा विकास आयोजनाहरूले गत आर्थिक वर्षमा सम्पन्न गरेका काम, हासिल भएका उपलब्धि, बजेट खर्चको अवस्था र कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका छन् । कार्यक्रममा सरकारी कार्यालय, अस्पताल, सडक डिभिजन, खानेपानी, कृषि क्षेत्र, डिभिजन वन कार्यालय, चुरे उत्थानशील आयोजना तथा जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजनाहरूले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका छन् ।
प्रस्तुतीकरणमार्फत विकास निर्माणका गतिविधिको अवस्था, सेवा प्रवाहमा भएका सुधार, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे सहभागीबीच छलफल भइरहेको छ । समीक्षा कार्यक्रमले जिल्लाको विकास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक नीति, योजना र समन्वयका विषय पहिचान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको दोस्रो दिन कमलामाई नगरपालिका र दुधौली नगरपालिकासहित फिक्कल, सुनकोशी, गोलञ्जोर, घ्याङलेख, तीनपाटन ,मरिण र हरिहरपुर गाउँपालिकाले वार्षिक प्रगति विवरण, विकास निर्माण, सामाजिक सेवा तथा स्थानीय तहबाट प्रवाह भएका सेवाको अवस्थाबारे जानकारी गराउनेछन् ।
स्थानीय तह तथा विषयगत कार्यालयहरूको प्रस्तुतीकरणपछि जनप्रतिनिधि, सरकारी अधिकारी तथा अन्य सरोकारवालाहरूले समीक्षात्मक धारणा राख्ने कार्यक्रम तय गरिएको छ । वार्षिक समीक्षामार्फत विगतका अनुभवबाट सिक्दै आगामी कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ ।