शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमलामाईमा शिक्षाको पहुँच विस्तार गर्दै प्लान–ह्यान्ड्स नेपाल

बुधवार , भाद्र २४, २०८३

 

सिन्धुली,२४ भदौ— कमलामाई नगरपालिकामा आर्थिक रूपमा पछाडि परेका तथा विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको शैक्षिक तथा सामाजिक सशक्तीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा ह्यान्ड्स नेपालले आर्थिक वर्ष २०८३÷०८४ का लागि सञ्चालन गर्ने विभिन्न परियोजनाको प्रारम्भिक छलफल तथा योजना बैठक बुधबार कमलामाई नगरपालिकामा सम्पन्न गरेको हो ।

बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने, उनीहरूको संरक्षण र विकासमा सहयोग पुर्‍याउने तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित परियोजनाका आगामी गतिविधिबारे बैठकमा विस्तृत छलफल गरिएको थियो । विशेषगरी आर्थिक अभाव, सामाजिक अवस्था तथा अन्य कारणले विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ ।

बैठकलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले आर्थिक कठिनाइका कारण शिक्षाबाट वञ्चित हुन पुगेका तथा संरक्षण आवश्यक रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले नगरभित्र सञ्चालन हुने शैक्षिक रूपान्तरणका कार्यक्रमहरूलाई प्रभावकारी, परिणाममुखी र लक्षित वर्ग केन्द्रित बनाउन आवश्यक रहेको उल्लेख गरे ।


नगर प्रमुख पोखरेलले स्थानीय सरकार, गैरसरकारी संस्था तथा सरोकारवाला निकायबीचको सहकार्यबाट मात्र बालबालिकाको शिक्षा, संरक्षण र विकासका क्षेत्रमा दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने धारणा राखे । उनले नगरपालिकाले यस्ता सकारात्मक पहलमा निरन्तर साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं ह्यान्ड्स नेपालका अध्यक्ष वासुदेव अधिकारीले संस्थाले शिक्षा क्षेत्रमा गर्दै आएको कामलाई थप विस्तार गर्दै अब आर्थिक सशक्तीकरण, युवा उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा कृषि उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई समेत प्राथमिकताका साथ अगाडि बढाउने नीति लिएको जानकारी दिए ।

बैठकमा ह्यान्ड्स नेपालका प्रतिनिधिहरू रामानन्द बैठा, कमला लामा र अमृत पाख्रिनले कमलामाई नगरपालिकाभित्र आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम, लक्षित समूह, कार्ययोजना तथा अपेक्षित उपलब्धिबारे विस्तृत प्रस्तुति दिएका थिए । उनीहरूले परियोजनाले शिक्षा, बालअधिकार, जीविकोपार्जन तथा समुदायको समग्र विकासमा योगदान पु¥याउने उद्देश्य राखेको बताए ।


त्यसैगरी जीएसडीपीका कार्यक्रम प्रमुख नेपालीले प्रत्याभूत बालबालिकाका लागि सञ्चालन गरिने विशेष परियोजनाबारे जानकारी गराउँदै उनीहरूको संरक्षण, शिक्षा र अवसर विस्तारका लागि प्रस्तावित गतिविधिहरू प्रस्तुत गरे ।

जीएसएस परियोजनाका कार्यक्रम संयोजक नवराज श्रेष्ठले सञ्चालन गरेको उक्त बैठकमा कमलामाई नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरूले ह्यान्ड्स नेपालले सिन्धुली जिल्लामा शिक्षा तथा बालअधिकारका क्षेत्रमा गर्दै आएको योगदान प्रभावकारी रहेको उल्लेख गर्दै आगामी परियोजनाले थप विपन्न र आवश्यकतामा रहेका बालबालिकासम्म पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे । परियोजनामार्फत स्थानीय तहसँगको समन्वयमा बालबालिकाको शिक्षामा पहुँच वृद्धि, क्षमता विकास र अधिकार संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया