शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार , भाद्र २४, २०८३

 

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घण्टे क्षेत्रमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना मोटरसाइकल सवार घाइते भएको बागमति प्रहदश प्रहरी कार्यालय हेटौडाले बुधवार जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलवार साँझ ७ः३० बजे सिन्धुलीतर्फबाट मकवानपुर जाँदै गरेको बा.प्र.०३–००१ ख १८१४ नम्बरको खाली मिनी ट्रकले पैदल हिँडिरहेका हरिहरपुरगढी गाउँपालिका–३ घण्टे निवासी करिब ४५÷५० वर्षीय माइते राईलाई ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव प्रारम्भिक कानुनी प्रक्रिया पूरा नहुँदासम्म घटनास्थलमै राखिएको थियो ।

सोही क्रममा सडकको छेउमा रोकि राखिएको उक्त ट्रकमा मधेश प्रदेश ०२–०१० प ००३४ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको प्रहरीले जनाएको छ । मोटरसाइकल कमलामाई नगरपालिका–६ सिन्धुली निवासी २३ वर्षीय सुरेश कुमार साहले चलाएका थिए । दुर्घटनामा साहको गाला र अनुहारमा भित्री चोट लागेको छ भने अवस्था सामान्य रहेको छ ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २९ वर्षीय सुशान्त साह घाइते भएका छन् । उनको दाहिने हात, नाक र मुखमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । दुवै घाइतेलाई थप उपचारका लागि मकवानपुरको झुरझुरेस्थित साजी मेडिकलतर्फ पठाइएको छ ।

थप विवरणअनुसार राति ११ः४० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक राईको शव पोस्टमार्टमका लागि कपिलाकोट स्वास्थ्य चौकीमा पठाइएको छ । दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया