सिन्धुली,२३ भदौ – सुशासनको माग र भ्रष्टाचारविरुद्ध नवपुस्ताले गत वर्ष भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा गरेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका योगेन्द्र न्यौपाने (रोशन) को सम्झनामा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारबेँसीमा शालिक अनावरण गरिएको छ ।
न्यौपानेको जन्मस्थल सुनकोशी नदी किनारस्थित उकास जग्गामा निर्माण गरिएको शालिकको मंगलबार गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले संयुक्त रूपमा अनावरण गरेको हो । सोही अवसरमा सहिद योगेन्द्र न्यौपाने स्मृति पार्कको समेत उदघाटन गरिएको छ ।
सिन्धुली स्थायी घर भएका न्यौपाने भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका थिए । मुलुकमा सुशासन कायम हुनुपर्ने र आम नागरिकका माग सम्बोधन हुनुपर्ने दबाबसहित नवपुस्ताले आयोजना गरेको आन्दोलनमा सहभागी हुने क्रममा उनिमाथि गोली प्रहार भएको थियो । सो घटनामा घाइते भएका न्यौपानेको निधन भएको थियो ।
उनको योगदानलाई स्मरण गर्दै परिवार र स्थानीय तहको पहलमा शालिक तथा स्मृति पार्क निर्माण गरिएको हो । स्थानीय प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका न्यौपानेका पिता युवराज न्यौपानेले सुरु गरेको निर्माण कार्यलाई गोलञ्जोर गाउँपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
शालिक अनावरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, परिवारका सदस्य, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले न्यौपानेले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका मुद्दालाई संस्थागत रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
सरकारले जेनजी आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको सम्मान गर्दै भदौ २३ गतेलाई जनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोही अवसरमा सार्वजनिक बिदासमेत दिइएको थियो ।
सहिद न्यौपानेको स्मृतिमा निर्माण गरिएको पार्क र शालिकले नयाँ पुस्ताको आन्दोलन, नागरिक अधिकार र सामाजिक उत्तरदायित्वसँग जोडिएको इतिहासलाई संरक्षण गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।