सिन्धुली,२३ भदौ — सवारी अंगभंग मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुली सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी पूर्णप्रकाश वैद्यका २४ वर्षीय छोरा सन्जोग वैद्यलाई इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठका अनुसार वैद्यविरुद्ध सम्मानित जिल्ला अदालत सिन्धुलीको लगत नं. २२९४ अनुसार मिति २०८१ साल फागुन २६ गते भएको फैसलाबाट सवारी अंगभंग मुद्दामा रु. ५ हजार जरिवाना र रु. २ सय क्षतिपूर्ति भराउने निर्णय भएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका वैद्यलाई आवश्यक कारबाहीका लागि सम्मानित सिन्धुली जिल्ला अदालतमा पठाइएको श्रेष्ठले बताए ।
प्रहरीले अदालतबाट भएका फैसला तथा आदेश कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।