सिन्धुली, २३ भदौ — सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खहरेखोलास्थित बीपी राजमार्गमा इभी हायस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । उदयपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ५२८२ नम्बरको इभी हायस स्ट्रिङ फेल भएपछि सडकबाट अनियन्त्रित भई सोमवार दुर्घटना भएको बागमती प्रदेश प्रहरीले मंगलवार जनाएको छ ।
प्रहरीका अनुसार सोमवार बिहान करिब ६ः४० बजे चौदण्डीगढी नगरपालिका–३ उदयपुरका २९ वर्षीय विवेक गिरीले चलाएको उक्त हायस सडकको बायाँतर्फ रहेको नालीमा खसेको थियो । दुर्घटनामा हायसको बायाँ भागमा क्षति पुगे पनि सडक अवरुद्ध नभएको र चालक गिरी सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि हायसमा सवार नौ जना यात्रुमध्ये घाइते भएकाहरूलाई तत्काल उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको थियो । चालक स्वयं उपचार व्यवस्थापनमा संलग्न रहेको, आवश्यक कागजात साथमा रहेको र चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की २६ वर्षीया भावना राईको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र सिन्धुली सुनकोशी गाउँपालिका–६ स्थित आत्मीय अस्पताल खाल्टेमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सोही अस्पतालमा भोजपुर आमचोक गाउँपालिका–२ की २९ वर्षीया सम्झना राईको अनुहारमा लागेको चोटको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । भोजपुरकै आमचोक गाउँपालिका–२ का २८ वर्षीय पुष्प राई पनि अनुहारमा चोट लागेर उपचाररत थिए। यी तीनै जनालाई थप उपचारका लागि बिहान ११ः३० बजे ललितपुरस्थित बीएनबी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अन्य घाइतेमध्ये खोटाङ खोटेहाङ गाउँपालिका–१ का ५९ वर्षीय विष्णु कुमार राईको दायाँ खुट्टाको पिँडुला र दायाँ आँखामुनि चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उदयपुर बेलका नगरपालिका–४ का २८ वर्षीय प्रशान्त कार्की र खोटाङ जन्तेढुङ्गा गाउँपालिका–३ का २६ वर्षीय तीर्थराज खत्रीलाई शरीरमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यी तीनै जनाको उपचार सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा भइरहेको थियो । उनीहरूलाई सामान्य उपचारपछि बिहान ११ः२० बजे अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ ।