बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

भोटेकोसी बाढीका दिवंगतप्रति कमलामाईको श्रद्धाञ्जली

सोमवार , भाद्र २२, २०८३

सिन्धुली,२२ भदौ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दै कमलामाई नगरपालिकाले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । प्राकृतिक विपत्तिमा परी दिवंगत भएका नेपाली तथा विदेशी नागरिकप्रति सम्मान व्यक्त गर्दै नगरपालिकाको कार्यालय परिसर अगाडि सोमबार साँझ श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन गरिएको हो ।

भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजित कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

नगरप्रमुख पोखरेलले विपत्तिपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउन सरकारसँग आग्रह गरे । उनले प्राकृतिक प्रकोपबाट उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा राज्य, स्थानीय तह र नागरिक सबै पक्ष एकताबद्ध भएर प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झनामा एक मिनेट मौन धारणसमेत गरेका थिए । नगरपालिकाले विपत्तिबाट अपूरणीय क्षति व्यहोरेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता प्रकट गर्दै पीडित परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामनासहित कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कमलामाई नगरपालिकाका नगरप्रमुख श्री उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्की, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरिएको थियो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरूको सुरक्षित खोजी तथा उद्धार र विपत्तिपछिको पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको सन्देश दिइएको थियो ।

भोटेकोसी बाढीले पु¥याएको मानवीय क्षतिप्रति संवेदना व्यक्त गर्दै कमलामाई नगरपालिकाले आयोजना गरेको उक्त दीप प्रज्वलन कार्यक्रम विपत्तिको घडीमा पीडित परिवारसँग स्थानीय तहको साथ र समर्थन रहने प्रतिबद्धताको रूपमा समेत लिइएको छ ।

प्रतिक्रिया