रामेछाप,२२ भदौ - वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाएर गरगहना तथा नगद लुटेको आरोपमा प्रहरीले सिन्धुलीका एक जनासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ छन् । यस्तै झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूले १८ भदौको राति करिब १२ बजे खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई घरमै नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । वृद्ध दम्पतीको मुख प्लास्टिकको टेपले बाँधेर आँखामा पट्टी लगाइएको र ज्यान मार्ने धम्की दिँदै उनीहरूसँग रहेका गरगहना तथा नगद लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।
पक्राउ परेका सुमन काठमाडौंस्थित एक निजी विद्यालयमा चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको छ । बसका सहचालक रहेका दीर्घराजको साथबाट ५२ हजार २ सय रुपैयाँ नगद, साथै घटनाका क्रममा लगाएको ज्याकेट र हाफ कट्टु फेला परेको छ ।
मोटरसाइकल इनड्राइभ गर्ने पशुपतिबाट मोटरसाइकल र ६ हजार ४६० रुपैयाँ नगद बरामद भएको छ । उनको लक्ष्मी सनराइज बैंक खातामा १ लाख ३१ हजार रुपैयाँ रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको साथबाट पुराना सिक्का, सुनजस्तो देखिने औँठी तथा बुद्धचित्तका २२ दाना पनि बरामद भएका छन् । सुनचाँदी व्यवसाय गर्दै आएका पिताम्बर र गुणराजको साथबाट दुई थान सुनका रिङ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा पशुपति यसअघि रामेछापकै महादेव मन्दिरको दानपेटिका फुटाएर चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको छ । प्रहरी निरीक्षक राउतका अनुसार १ असार २०८३ मा सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी र ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरी भएको घटनामा पनि पशुपतिको संलग्नता देखिएको छ ।
यस्तै, दीर्घराजविरुद्ध १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको अभिलेख भेटिएको छ । पशुपतिको समूहले काठमाडौंमा सिक्री लुटेको र त्यससम्बन्धी मुद्दा प्रहरी वृत्त कालिमाटीमा चलेको पनि प्रहरीले जनाएको छ । गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको अभिलेख फेला परेको छ ।
यसै समूहले १८ भदौ बिहान करिब ६ बजे रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमान सिं तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।