मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

तीनपाटनमा यू–१७ भलिबल प्रतियोगिता सुरु, आठ टोलीको सहभागिता

आइतवार , भाद्र २१, २०८३

सिन्धुली,२१ भदौ – सिन्धुलीको तीनपाटन गाउँपालिका–५ लङ्गुरखोला आहालेमा यू–१७ भलिबल प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि भलिबल, स्वास्थ्यका लागि भलिबल’ भन्ने मूल नाराका साथ न्यू सगरमाथा युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उदघाटन तीनपाटन गाउँपालिका–५ का वडा अध्यक्ष भुपाल सिंह तामाङले सर्भिस गरेर गरेको हो ।

आइतवारबाट सुरु भएको प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । प्रतियोगितामा प्रत्येक टोलीबाट आठ जना खेलाडी मात्र सहभागी हुने व्यवस्था गरिएको आयोजक न्यू सगरमाथा युवा क्लबका अध्यक्ष अबिन सिदाली मगरले जानकारी दिए । किशोर खेलाडीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास तथा युवाको स्वास्थ्य र खेलकुदप्रतिको सहभागिता बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

उदघाटन कार्यक्रममा वडा अध्यक्ष तामाङले प्रतियोगिताको औपचारिक सुरुआत गर्दै खेलाडीलाई प्रतिस्पर्धात्मक भावनासहित अनुशासन र खेलभावनामा रहेर खेल प्रदर्शन गर्न आग्रह गरे । प्रतियोगिताको व्यवस्थापन न्यू सगरमाथा युवा क्लबले गरेको हो ।

प्रतियोगिताको खेल तालिकाअनुसार सोमवार सम्म खेल सञ्चालन हुने आयोजकले जनाएको छ । दुई दिन सञ्चालन हुने प्रतियोगितामा सहभागी आठ टोलीबीच प्रतिस्पर्धाबाट विजेता टोली छनोट गरिनेछ ।

प्रतियोगिताको प्रथम हुने टोलीले नगद आठ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टोलीका लागि चार हजार रुपैयाँ नगद तथा मेडल र ट्रफीको व्यवस्था गरिएको छ । त्यस्तै, तेस्रो हुने टोलीले दुई हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गर्नेछ ।

आयोजकले उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत खेलाडीलाई समेत विभिन्न विधामा सम्मान गर्ने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई मेडल प्रदान गरिनेछ । यसबाट टोलीगत उपलब्धिसँगै खेलाडीको व्यक्तिगत प्रदर्शनलाई समेत मूल्यांकन गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

न्यू सगरमाथा युवा क्लबका अध्यक्ष अबिन सिदाली मगरका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ र प्रत्येक टोलीमा आठ जना खेलाडी मात्र रहने व्यवस्था गरिएको छ । क्लबले स्थानीय युवालाई खेलकुदमा आबद्ध गराउँदै स्वस्थ जीवनशैली, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया