सिन्धुली,२१ भदौ - सिन्धुली अस्पतालका चिकित्सकले थप उपचार आवश्यक ठहर गर्दै राति १२ बजे अन्य अस्पताल रेफर गरेका तीर्थबहादुर स्याङवाले समयमै एम्बुलेन्स पाएनन् । परिवारले रातभर एम्बुलेन्स खोजिरह्यो, तर बिरामीलाई अन्य अस्पताल पु¥याउने व्यवस्था हुन सकेन । अन्ततः रेफर गरिएको करिब ६ घण्टापछि बिहान ६ बजे उनको सिन्धुली अस्पतालकै आकस्मिक कक्षमा मृत्यु भयो ।
कमलामाई नगरपालिका–५, हाइटार निवासी स्याङवालाई दमलगायत विभिन्न रोगको समस्या भएपछि परिवारले शसनवार राति १० बजे सिन्धुली अस्पताल ल्याएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा अवस्था थप जटिल भएपछि अस्पतालले उनलाई थप उपचारका लागि अन्य अस्पताल लैजान रेफर गरेको थियो ।
रेफरको निर्णयपछि उनका छोरा प्रकाश स्याङवा बिरामीलाई लैजान एम्बुलेन्स खोज्न लागे । राति १२ बजेदेखि अस्पतालको एम्बुलेन्स कक्षमा टाँसिएका दर्जनौँ एम्बुलेन्सका नम्बरमा सम्पर्क गर्दा पनि सेवा उपलब्ध हुन नसकेको उनले बताए ।
“राति १२ बजेदेखि एम्बुलेन्स खोज्यौँ । फोन गर्दागर्दै बिहान भयो,” प्रकाशले भने । उनका अनुसार अस्पतालको एम्बुलेन्स त्यसबेला अर्को बिरामी लिएर काठमाडौं गएको थियो । अस्पताल परिसरमै रहेको रेडक्रसको एम्बुलेन्समा पटकपटक फोन गर्दा पनि फोन उठेन ।
अन्य एम्बुलेन्स चालकसँग सम्पर्क गर्दा पनि परिवारले बिरामी लैजान तत्काल सेवा पाएन । प्रकाशका अनुसार केही चालकले एम्बुलेन्स बिग्रिएको बताएका थिए भने केहीले आफ्नो एम्बुलेन्समा अक्सिजन नभएको भन्दै बिरामी लैजान नसक्ने बताएका थिए ।
यसबीच अस्पताल परिसरमै रातभर रेडक्रसको एम्बुलेन्स पार्किङमा रहेको थियो । तर त्यसमा सम्पर्क हुन नसकेको परिवारको दाबी छ । बिरामीको अवस्था गम्भीर हुँदै जाँदा पनि वैकल्पिक एम्बुलेन्सको व्यवस्था हुन सकेन ।
सिन्धुली अस्पतालका प्रशासक विमल श्रेष्ठले अस्पतालको मातहतमा एउटा मात्र एम्बुलेन्स रहेको र उक्त एम्बुलेन्स जुनसुकै समयमा सेवा दिन उपलब्ध हुने बताए । तर घटनाको समयमा अस्पतालको एम्बुलेन्स बिरामी लिएर काठमाडौं गएको उनले पुष्टि गरे ।
श्रेष्ठका अनुसार जिल्लाका अन्य एम्बुलेन्स रातिको समयमा सञ्चालन गर्न नमान्ने गुनासो अस्पतालमा पटकपटक आउने गरेको छ । चाडपर्वका समयमा एम्बुलेन्ससम्बन्धी समस्या झन् बढ्ने गरेको उनले बताए ।
रेफर गरिएका बिरामीले रातिको समयमा एम्बुलेन्स नपाउने अवस्थाबारे सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले भने यसअघि प्रशासनमा यस्तो विषय औपचारिक रूपमा नआएको बताए । उनले अब सम्बन्धित पक्षसँगको बैठकमा एम्बुलेन्स सेवाको विषय उठाएर नियमन गर्ने बताए ।
सिन्धुलीको यो घटनाले एउटा गम्भीर प्रश्न भने उठाएको छ—अस्पतालले थप उपचारका लागि बिरामी रेफर गरेपछि उनलाई तोकिएको उपचार केन्द्रसम्म पु¥याउने एम्बुलेन्स सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने जिम्मेवारी र त्यसको निगरानी कसको हो ? रेफरको निर्णय र बिरामीको मृत्युबीचको करिब ६ घण्टाको अवधिमा एम्बुलेन्स व्यवस्थापन कसरी भयो भन्ने विषयसमेत अब छानबिनको दायरामा आउनुपर्ने देखिन्छ । स्रोत : सिन्धुली मंसिर चार