शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

३८ ग्राम खैरो हेरोइनसहित तीन युवक पक्राउ

आइतवार , भाद्र २१, २०८३

हेटौँडा,२१ भदौ – मकवानपुर प्रहरीले हेटौँडा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ३८ ग्राम खैरो हेरोइन बरामद गर्दै लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आशङ्कामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र सोही स्थानका २७ वर्षीय विमल सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार हेटौँडा उपमहानगरपालिका–१५ स्थित नयाँ बस्ती क्षेत्रमा जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो । प्रहरी टोलीले चुरियामाईबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम सडकखण्डमा रोकी परीक्षण गरेको थियो ।

मोटरसाइकलमा सवार व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले लागूऔषधसँगै प्रयोगमा रहेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । पछिल्लो घटनाले मकवानपुर क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया