कपिलबस्तु,१९ भदौ – कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले सडक पार गर्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो । दुर्घटनामा बालकको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै बालकलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि चिकित्सकले थप उपचार आवश्यक रहेको भन्दै बुटवल रिफर गरेका थिए। त्यसपछि परिवारजनले बालकलाई लुम्बिनी सिटी अस्पताल, बुटवल पु¥याएका थिए ।
लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि प्रहरीले अटो नियन्त्रणमा लिएको छ भने अटो चालक ३४ वर्षीया रुपा वि.क.लाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार घटनाको थप विवरण संकलन गर्ने तथा दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको छ । प्रारम्भिक विवरणअनुसार बालक सडक पार गर्ने क्रममा अटोको ठक्करमा परेका थिए । दुर्घटनापछि स्थानीय क्षेत्रमा केही समय तनावसमेत देखिएको थियो । प्रहरीले घटनासँग सम्बन्धित पक्षसँग बयान लिने, अटोको प्राविधिक अवस्था परीक्षण गर्ने तथा घटनास्थलको निरीक्षण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
बालकको मृत्यु भएपछि परिवारजन शोकमा परेका छन् । घटनाबारे कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।