सिन्धुली,१९ भदौ — कमलामाई नगरपालिका–६, माढीबजारस्थित गौमती माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८३÷०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । विद्यालयको शुक्रवार आयोजित समारोहमा संस्थागत पारदर्शिता, सार्वजनिक जवाफदेहिता र गुणस्तरीय शिक्षाको दिगो आधार निर्माणलाई केन्द्रमा राखेर योजना प्रस्तुत गरिएको हो ।
कार्यक्रमको प्रारम्भमा देशका विभिन्न स्थानमा बाढीपहिरो तथा प्राकृतिक विपदमा ज्यान गुमाएकाप्रति एक मिनेट मौनधारण गरिएको थियो । विद्यालयले विपद् प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै जोखिम न्यूनीकरण र पूर्वतयारीमा शैक्षिक संस्थाको सचेत भूमिका आवश्यक रहेको जनाएको छ ।
बिद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीले विद्यालयका गतिविधि, योजना र आर्थिक पक्ष अभिभावक तथा नागरिकसामु खुला हुनुपर्ने बताए । उनले, “विद्यालय समाजको ऐना हो । पारदर्शिता र जवाफदेहिता बिना गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन,” भन्दै सार्वजनिक कार्यक्रमले शैक्षिक गतिविधिलाई उच्च तहमा पुर्याउने मार्गचित्र तयार गर्ने विश्वास व्यक्त गरे । विद्यालयको मूल मर्म ‘गुणस्तरीय शिक्षा, अनुशासन र संस्कार ः हाम्रो प्रतिबद्धता, हाम्रो आधार’ लाई कार्यान्वयनमा लैजान नीति तथा कार्यक्रम कोसेढुंगा बन्ने उनको भनाइ थियो ।
प्रमुख अतिथि तथा वडा नम्बर ६ का वडाध्यक्ष उज्वल बिक्रम थापाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने विद्यालयको अभ्यासलाई उदाहरणीय बताए । “जवाफदेहिता र पारदर्शितामा गौमती माविले जिल्लामै उच्चतम नमुना प्रस्तुत गरेको छ,” उनले भने, “खर्चमाथि प्रश्न उठाउनेहरूका लागि सार्वजनिक प्रस्तुति नै बलियो र अकाट्य जवाफ हो ।” स्थानीय सरकारले भौतिक पूर्वाधार, शैक्षिक स्तरवृद्धि र प्रविधिमैत्री शिक्षामा सहकार्य गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
शिक्षा क्षेत्रका सरोकारवाला सतिष कार्कीले विद्यालयका योजना शैक्षिक विज्ञता, निरन्तर परामर्श र स्थानीय आवश्यकतासँग मेल खाने बताए । उनका अनुसार योजना आधुनिक, अनुसन्धानमुखी र विद्यार्थीकेन्द्रित छन्; तिनको प्रभावकारी कार्यान्वयन नै सफलताको आधार हुनेछ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर घिसिङले सामाजिक निगरानी र रचनात्मक सुझावलाई विद्यालयको सुधारको आधार बताए । “समुदाय र अभिभावककै बृहत् भेला र सहमतिमा निर्णय, शुल्क र योजना तय भएका छन्,” उनले भने । आलोचनाले विद्यालयको शैक्षिक यात्रामा असर नपार्ने उल्लेख गर्दै उनले गौमती मावि सिन्धुलीको प्रमुख शैक्षिक हबका रूपमा अघि बढिरहेको दाबी गरे ।
शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय बुद्धिजीवीको उपस्थितिमा सम्पन्न कार्यक्रममा अनुशासन, संस्कार, नवीनता र शैक्षिक सफलतामा आधारित कार्ययोजनाले सरकारी विद्यालयप्रतिको विश्वास बढाउने निष्कर्ष निकालिएको थियो । विद्यालय प्रशासनले योजना समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।