शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुई जना जीवितै उद्धारपछि त्रिशुली थ्री–ए सुरुङमा अझै कति जना फसेका छन् ?

शुक्रवार , भाद्र १९, २०८३

काठमाडौं, १९ भदौ — नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई कर्मचारीलाई उद्धार टोलीले जीवितै बाहिर निकालेको छ । सुरुङभित्र फसेको करिब १० दिनपछि उनीहरूको उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जन रहेका छन् । उनीहरूलाई पावरहाउसतर्फ जाने सुरुङमार्गमा फेला पारेर उद्धार गरिएको आयोजनाले जनाएको छ ।

त्रिशुली थ्री–ए परियोजनाका प्रमुख आवास ओझाका अनुसार उद्धार टोली पावरहाउससम्म पुग्नुअघि नै यी दुई कर्मचारी भेटिएका हुन् । “उनीहरू पावरहाउस पुग्ने बाटोमा जीवित अवस्थामा भेटिनुभएको हो,” ओझाले भने, “पावरहाउससम्म उद्धार टोली पुग्न अझै बाँकी छ ।”

सुरुङभित्र अत्यधिक अँध्यारो रहेको कारण उद्धार गरिएका कर्मचारीहरू पावरहाउसबाट कति दूरीमा थिए भन्ने यकिन गर्न नसकिएको उनले बताए। उद्धार कार्य जारी रहेकाले पावरहाउस क्षेत्रमा रहेका अन्य कर्मचारीको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको आयोजनाले जनाएको छ ।

सञ्चालनमा रहेको ६० मेगावाट क्षमताको त्रिशुली थ्री–ए परियोजनामा यतिबेला समग्र मर्मतसम्भार अर्थात् ओभरहलिङको काम भइरहेको थियो । मर्मत कार्यका क्रममा नदीबाट विद्युत् गृहमा पानी प्रवेश गर्ने सुरुङ बन्द गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् गृहभित्र इन्जिनियर तथा कर्मचारी गरी ४२ जना फसेको अनुमान छ । तीमध्ये अधिकांश व्यक्ति विद्युत् गृह परिसरमै रहेको अनुमान गरिएको छ । तर, सुरुङभित्र रहेका सबै व्यक्तिको वास्तविक संख्या र अवस्थाबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।

प्रारम्भिक रूपमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र रहेका सबै व्यक्ति जीवित रहेको जानकारी दिएको आयोजना प्रमुख ओझाले बताए । तथापि, भित्र कति जना मानिस छन् भन्ने विषयमा स्पष्ट विवरण प्राप्त नभएको उनको भनाइ छ ।

उद्धार टोलीले सुरुङभित्र पुग्ने प्रयासलाई निरन्तरता दिएको छ । सुरुङभित्र रहेका अन्य कर्मचारीसम्म पुगेर सुरक्षित रूपमा बाहिर निकाल्ने कार्यलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया