शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भोटेकोसी बाढीपीडितका लागि पूर्वविद्यार्थी समाजको सहयोग

बुधवार , भाद्र १७, २०८३

सिन्धुली,१७ भदौ – भोटेकोसी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै कमला माध्यमिक विद्यालय, ढुंग्रेवासका पूर्वविद्यार्थी समाज २०३९,ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संकलन गरेको २७ हजार १८६ रुपैयाँ बुधवार प्रमुख जिल्ला अधिकारी  स्किम श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट प्रभावित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको समाजले जनाएको छ ।

भोटेकोसीमा आएको बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको, सर्वसाधारण प्रभावित बनेका तथा कैयौँ परिवारले पीडा र विस्थापन भोग्नुपरेको घटनाप्रति समाजले गहिरो दुःख व्यक्त गरेको छ । प्राकृतिक विपत्तिका कारण उत्पन्न संकटमा राज्यका राहत तथा उद्धार प्रयासमा सहयोग पु¥याउने उद्देश्यले समाजले आफ्नो तर्फबाट योगदान गरेको हो ।

सहयोग रकम हस्तान्तरणका क्रममा समाजले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचाररत सबैको सफल स्वास्थ्य पुनःस्थापनाका लागि शुभेच्छा व्यक्त गरेको छ ।

समाजले विपत्तिका कारण आफन्त गुमाएका तथा पीडामा रहेका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । दुःखको यस घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै समाजले राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेकोसमेत उल्लेख गरेको छ ।

कमला माध्यमिक विद्यालय, ढुंग्रेवासका पूर्वविद्यार्थी समाज २०३९ ले मानवीय संवेदना र सामाजिक दायित्वलाई केन्द्रमा राख्दै उपलब्ध स्रोतअनुसार सहयोग गरेको जनाएको छ । बाढीपीडितको राहत तथा पुनःस्थापनामा उक्त रकमले केही भए पनि योगदान पु¥याउने अपेक्षा समाजले गरेको छ ।

प्रतिक्रिया