सिन्धुली,१७ भदौ — हालैको विनाशकारी बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेको छ । बढ्दो चापबाट हुन सक्ने दुर्घटना, ट्राफिक जाम तथा सडक सुरक्षासम्बन्धी जोखिम न्यूनीकरण गर्न सिन्धुली जिल्ला प्रशासनले सवारी सञ्चालनका लागि नयाँ समयसीमा र मालवाहक सवारीको तौल सीमा निर्धारण गरेको छ ।
जिल्ला सुरक्षा समितिको भदौ १६ गते बसेको बैठकको निर्णयअनुसार यात्रुवाहक र मालवाहक सवारीसाधनलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । प्रशासनका अनुसार राहत सामग्रीको ढुवानीलाई अवरोधरहित बनाउँदै सडकको सुरक्षा तथा यातायात व्यवस्थापन प्रभावकारी बनाउन यो निर्णय लिइएको हो ।
प्रशासकीय अधिकृत राधाकृष्ण कोइरालाद्वारा जारी सूचनामा नयाँ व्यवस्थाअनुसार निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनले बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र बीपी राजमार्गमा आवतजावत गर्न पाउनेछन् । यात्रुवाहक सवारीको समय सकिएपछि मालवाहक तथा ढुवानीका सवारीसाधनले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन अनुमति पाउनेछन् ।
प्रशासनले राजमार्गको भौतिक अवस्था र सडक सुरक्षालाई ध्यानमा राख्दै १० टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनको सञ्चालनमा पूर्ण रोक लगाएको छ । अब बीपी राजमार्गमा १० टनसम्म तौल भएका मालवाहक सवारी मात्र चलाउन पाइनेछ । तोकिएको सीमाभन्दा बढी भार बोकेका सवारीसाधनलाई उक्त मार्ग प्रयोग गर्न नदिइने जनाइएको छ ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुगेको थियो । त्यससँगै लगातारको मौसमी वर्षाले पृथ्वी राजमार्गलगायत विभिन्न राष्ट्रिय राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएका छन् । वैकल्पिक मार्गको अभाव र अन्य सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा यात्रुवाहक तथा मालवाहक सवारीको चाप बढेको प्रशासनले जनाएको छ ।
सवारी सञ्चालन, मार्गको अवस्था तथा आपत्कालीन सहजीकरणसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको फोन नम्बर ९८५४०६५५५५, जिल्ला ट्राफिक प्रहरीको नम्बर ९८५४०९००३६ तथा जिल्ला आपत्कालीन केन्द्रको नम्बर १२३४ वा ९८५४०५००२४ मा सम्पर्क गर्न सकिनेछ । सूचनामा चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई तोकिएको समय, तौल सीमा र सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।