शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोशीको बगरमा निर्माण :विपद्को जोखिममाथि विकासको दबाब

बुधवार , भाद्र १७, २०८३


सिन्धुली,१७ भदौ – सिन्धुलीको सुनकोशी गाउँपालिकाको मुलकोट क्षेत्रमा दुई वर्षअघि सुनकोशी नदीमा आएको विनाशकारी बाढीले नदी आसपासका बस्ती र संरचनामा ठूलो क्षति पु¥याएको थियो । बाढीले पु¥याएको क्षतिबाट नदीकिनार तथा बगर क्षेत्रमा बसोबास र संरचना निर्माणको जोखिम स्पष्ट भइसके पनि त्यसयता भइरहेका गतिविधिले स्थानीय सरोकारवालाको चिन्ता झन् बढाएको छ ।

बाढीबाट गम्भीर रूपमा प्रभावित भएकै क्षेत्रमा अहिले नदीतर्फ संरचना विस्तार गर्ने काम अघि बढिरहेको छ । विशेषगरी सुनकोशीको बगर क्षेत्रमा सरकारी विद्यालय निर्माण गर्ने तयारी र काम अगाडि बढाइएको छ । विद्यालय तथा अन्य संरचनालाई सुरक्षित राख्ने नाममा करोडौँ रुपैयाँ खर्च गर्ने योजना बनाइएको बताइएको छ । तर निर्माणस्थलको उपयुक्तता, नदीको प्राकृतिक बहाव, वर्षायाममा तीव्र रूपमा बढ्ने जलसतह तथा विगतमा भएको क्षतिलाई पर्याप्त रूपमा मूल्यांकन नगरिएको स्थानीयको गुनासो छ ।

स्थानीय सरोकारवालाका अनुसार सुनकोशी तीव्र बहाव भएको नदी हो। यसको बहावलाई स्थायी रूपमा छेक्ने वा पूर्ण नियन्त्रणमा राख्ने सोच व्यवहारिक हुन सक्दैन । नदीले समयअनुसार आफ्नो प्राकृतिक मार्ग खोज्ने भएकाले बगर तथा नदीकिनारमा गरिने निर्माणले संरचना मात्र जोखिममा पार्दैन, त्यस्ता योजनामा लगानी गरिएको सार्वजनिक रकमसमेत अनिश्चिततामा पार्छ ।

बाढीपछि नदीको बहाव क्षेत्र, कटानको सम्भावना र आसपासका बस्तीको सुरक्षाबारे गम्भीर अध्ययन हुनुपर्नेमा त्यसलाई बेवास्ता गर्दै निर्माण अघि बढाइएको स्थानीयको आरोप छ । उनीहरूका अनुसार संरक्षणका नाममा तटबन्ध वा अन्य संरचना निर्माण गरिए पनि नदीको वेग, पानीको मात्रा र सम्भावित कटानलाई दीर्घकालीन रूपमा रोक्न सकिँदैन। कमजोर वा अस्थायी संरचनामा ठूलो रकम खर्च गर्दा विपद्को समयमा त्यसले अपेक्षित सुरक्षा दिन नसक्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित निकायले निर्माणस्थलको भौगोलिक अवस्था, नदीको बहाव क्षेत्र र विगतको बाढीबाट भएको क्षतिको विस्तृत समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सार्वजनिक विद्यालयजस्तो महत्वपूर्ण संरचना निर्माण गर्नुअघि जोखिम नक्सांकन, प्राविधिक परीक्षण र दीर्घकालीन सुरक्षा योजनालाई अनिवार्य बनाउनुपर्ने स्थानीयको माग छ । उनीहरू खोलाको बहाव क्षेत्र खुला राख्न, जोखिमयुक्त स्थानमा सार्वजनिक तथा निजी संरचना निर्माण रोक्न र सुरक्षित भूभाग पहिचान गरेर मात्र विकास योजना अघि बढाउनुपर्ने बताउँछन् ।

विगतको बाढीबाट पाठ नसिकी निर्माणलाई निरन्तरता दिइए सुनकोशीको बगरमा बनाइने संरचना र त्यसमा खर्च हुने करोडौँ रुपैयाँ भविष्यमा खेर जाने सम्भावना छ । बाढी, कटान र नदीको बदलिँदो प्रकृतिलाई बेवास्ता गरेर गरिने विकासले नागरिकको सुरक्षा र राज्यको लगानी दुवै कमजोर बनाउनेछ । त्यसैले नदीलाई चुनौती दिने दृष्टिकोणभन्दा यसको प्राकृतिक स्वरूप, बहाव र जोखिमलाई बुझेर विकास निर्माणका निर्णय लिनुपर्ने आवाज स्थानीय स्तरमा उठेको छ । समयमै सचेत भएर वैज्ञानिक अध्ययनमा आधारित योजना नबनाए मुलकोट क्षेत्रमा अर्को विपद्ले अझ ठूलो मानवीय तथा आर्थिक क्षति पु¥याउन सक्ने चेतावनी सरोकारवालाले दिएका छन् ।

प्रतिक्रिया