शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भोटेकोशी बाढीपीडितका लागि राहत संकलनमा सिन्धुली प्रशासनको कडाइ

मंगलवार , भाद्र १६, २०८३

सिन्धुली,१६ भदौ — जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा वितरणसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले बाढीपीडितको नाममा राहत संकलन गर्ने व्यक्ति, संघसंस्था तथा समूहलाई पारदर्शिता र समन्वय कायम गर्न आग्रह गरेको हो ।

कार्यालयका अनुसार २०८३ साल साउन १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत नदीकिनारका क्षेत्रमा ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति भएको छ । बाढीबाट पीडित तथा प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने विषयमा नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका सूचनामा उल्लेख भएबमोजिम राहत सामग्री संकलन र वितरण भइरहेको प्रशासनले जनाएको छ ।

विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिन्धुली जिल्लाका विभिन्न स्थानबाट नगद तथा वस्तुगत राहत सामग्री आपूर्ति भइरहेको जानकारी कार्यालयमा प्राप्त भएको सूचनामा उल्लेख छ । राहत संकलन गर्ने विषयमा कुनै व्यक्ति, संघसंस्था वा समूहले स्वेच्छिक वा जबर्जस्ती रूपमा रकम वा सामग्री उठाउन नहुने प्रशासनले स्पष्ट पारेको छ ।

बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चाहने व्यक्ति वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने सामग्रीको स्पष्ट विवरण खुलाउनुपर्नेछ । त्यस्तो विवरण जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई अनिवार्य रूपमा जानकारी गराएपछि मात्र राहत संकलन गर्नुपर्ने सूचनामा उल्लेख छ । संकलित सामग्री कहाँ, कसरी र कुन परिमाणमा उपलब्ध गराइने हो भन्ने विषयमा स्पष्ट अभिलेख राख्न पनि कार्यालयले आग्रह गरेको छ ।
प्रशासनले राहत सामग्री वितरण गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने जनाएको छ । आवश्यकताका आधारमा संकलित सामग्री बाढी प्रभावित क्षेत्रमा पठाउने तथा वितरण गर्ने व्यवस्था मिलाइने कार्यालयको भनाइ छ । राहतका नाममा हुने सम्भावित अनियमितता, दोहोरो संकलन र अपारदर्शी गतिविधि रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सूचनाले जोड दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दीपेश पौडेलद्वारा हस्ताक्षरित सूचना मंगलवार जारी गरिएको हो । कार्यालयले राहत संकलन तथा वितरणमा संलग्न सबै व्यक्ति, संघसंस्था र समूहलाई नियमअनुसार काम गर्न आग्रह गर्दै बाढीपीडितसम्म वास्तविक सहयोग पु¥याउन सहकार्य आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया