शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पृथ्वी राजमार्ग अवरुद्धपछि बीपीमा ठुला सवारीको बढ्दो चाप

मंगलवार , भाद्र १६, २०८३

फाइल फोटो

सिन्धुली,१६ भदौ  — त्रिशूली नदीको बाढीले काठमाडौँ–मुग्लिन सडकखण्डमा क्षति पु¥याई पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि पूर्वी पहाड र तराईबाट राजधानी प्रवेश गर्ने सवारीसाधनको दबाब बीपी राजमार्गतर्फ सर्ने देखिएको छ । यसले साँघुरा घुम्ती र पुनर्निर्माणाधीन खण्ड भएका कारण बीपी राजमार्गमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्ने अनुमान गरिएको छ ।

आइतबार बिहान आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत स्थानमा सडक कटान गरेपछि यातायात सञ्चालन रोकिएको हो। संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य मार्ग बन्द भएसँगै वैकल्पिक सडकहरूमा यात्रुवाहक तथा मालवाहक सवारीको चाप बढ्ने भएको छ ।

सडक डिभिजन भक्तपुरका अनुसार तराई र पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्रिकालीन बस तथा मालवाहक सवारी बीपी राजमार्ग प्रयोग गर्नतर्फ आकर्षित हुन सक्छन् । डिभिजन प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग बन्द हुँदा बीपी राजमार्गसँगै कान्ति लोकपथ र त्रिभुवन राजपथमा पनि दबाब बढ्ने जानकारी दिए ।

उनका अनुसार पश्चिम तथा पूर्वबाट आउने सम्पूर्ण यात्रुवाहक र मालवाहक सवारीलाई कान्ति लोकपथ र त्रिभुवन राजपथले मात्र धान्न सक्ने अवस्था छैन । त्यसैले पूर्वी र तराई क्षेत्रबाट आउने ठुला रात्रि बस तथा ढुवानीका सवारी बीपी राजमार्गमा केन्द्रित हुन सक्ने सम्भावना बढेको उनले बताए ।

बीपी राजमार्गमा ठुला सवारीको सञ्चालन विशेषतः काभ्रेपलाञ्चोकको धुलिखेल–भकुण्डेबेँसी तथा सिन्धुलीको खुर्कोट–चियाबारी खण्डमा जटिल हुने योगेशको भनाइ छ । ती क्षेत्रमा रहेका तीखा र साँघुरा घुम्तीका कारण ठुला बस, मालवाहक ट्रक र ग्यास बुलेटलाई आवतजावत गराउन कठिन हुने जनाइएको छ । दिउँसो साना सवारीको आवागमन व्यवस्थापन गर्न सकिए पनि ठुला सवारीको थप चाप धान्न नसकिने योगेशले उल्लेख गरे ।

बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण जारी रहेकाले यसमा थप जोखिम र अवरोध देखिएको छ । पुनर्निर्माणका उपकरण लैजाँदा विगतमा साँघुरा मोडका कारण घण्टौँ जाम भएको अनुभव रहेको डिभिजनले जनाएको छ । यही कारण दिउँसो ठुला सवारी सञ्चालन गर्न उपयुक्त अवस्था नभएको निष्कर्ष निकालिएको छ ।

अत्यावश्यक परिस्थितिमा भने रातिको समयमा अन्य सवारीलाई निश्चित समयका लागि रोकेर ठुला रात्रि बस र मालवाहक सवारी चलाउने विकल्प अपनाउन सकिने बताइएको छ । ग्यास बुलेटलाई कान्ति लोकपथ वा त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्र्याउन कठिन हुने र बीपी राजमार्गमा पनि दुईतर्फी सञ्चालनमा अवरोध आउन सक्ने भएकाले चालकमार्फत स्थलगत निरीक्षण गराउने तयारी गरिएको छ ।

पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आउन एक महिनाभन्दा बढी समय लाग्न सक्ने आकलन डिभिजनको छ । ग्यास बुलेट सञ्चालन अनिवार्य भएमा पुनर्निर्माण कार्य केही समय रोक्दै पुरानो ट्र्याक प्रयोग गरेर राति सञ्चालन गराउन सकिने विकल्पमाथि पनि विचार भइरहेको योगेशले बताए ।

बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाको अवधारणा विसं १९६० तिर अघि सारिएको थियो । केही क्षेत्रमा निर्माण सुरु भए पनि त्रिभुवन राजपथ बनेपछि काम रोकिएको थियो। विसं २०५० को भीषण वर्षाले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा व्यापक क्षति पु¥याएपछि वैकल्पिक मार्गको आवश्यकता महसुस भएको थियो । त्यसपछि जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि निर्माण थालिएको बीपी राजमार्ग जापान सरकारले विसं २०७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया