शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रसुवा विपद् राहतमा सिन्धुलीबाट ८ लाख ६६ हजारभन्दा बढी सहयोग

सोमवार , भाद्र १५, २०८३

सिन्धुली,१५ भदौ — रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित र विस्थापित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्था तथा व्यक्तिले रकम जम्मा गराएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको विवरणअनुसारसोमवार सम्म जिल्लाबाट कुल ८ लाख ६६ हजार ३ सय ४९ रुपैयाँ कोषमा जम्मा भएको  छ ।

शैक्षिक संस्थाको अगुवाइमा भएको सहयोगअन्तर्गत साइनिङ मुन एकेडेमीले ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलसहित गोविन्द खड्का र कौशल कोइरालाले सोमबार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमार्फत प्रमुख जिल्ला अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष पोखरेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको तत्काल राहत, उद्धार तथा अस्थायी पुनःस्थापनामा केही योगदान पुग्ने अपेक्षासहित सहयोग गरिएको बताए । शिक्षा किताबी ज्ञानमा सीमित नरही सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग जोडिनुपर्ने उनको भनाइ छ । “उत्तर दिशाको छिमेकी जिल्ला रसुवाका दिदीबहिनी तथा दाजुभाइहरू विपद्को गहिरो संकटमा परेका बेला मानवीय नाताले साथ दिनु हाम्रो प्रमुख कर्तव्य ठानेर यो सानो सहयोग गरेका हौँ,” उनले भने ।

व्यवस्थापन समितिका सदस्य खड्का र कोइरालाले विपत्तिको घडीमा सामूहिक ऐक्यबद्धताले पीडितलाई पुनः उठ्ने हौसला दिने उल्लेख गर्दै सहयोगबाट प्रभावित परिवारको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रातामाटास्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ कोषमा उपलब्ध गराएको छ । विद्यालयका तर्फबाट सोनी पाण्डेले जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई चेक हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा संस्थापक सदस्यहरूको उपस्थिति थियो ।

पाण्डेका अनुसार विद्यालय परिवारले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो क्षमताअनुसार राहत रकम उपलब्ध गराएको हो। विद्यालय प्रशासनले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिक समाजलाई राहत तथा पुनःस्थापनाका काममा एकजुट हुन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भगवती इङ्लिस बोर्डिङ स्कुलबाट १ लाख ५ हजार रुपैयाँ, न्यू स्टार एकेडेमी बोर्डिङ स्कुलबाट ४५ हजार रुपैयाँ र लिटिल हेडर रिडर गार्डेन एन्ड मोन्टेसरीबाट २५ हजार १ सय ११ रुपैयाँ कोषको बैंक खातामा दाखिला भएको छ ।

यसैगरी मानव कल्याण समाज, सिन्धुलीले २४ हजार ५ सय १५ रुपैयाँ, सिन्धुली एकाता सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले ५१ हजार १ सय ११ रुपैयाँ, रीता बुढाथोकीले ५१ हजार २ सय ५ रुपैयाँ, नेपाल वन पैदावार व्यवसायी संघ, सिन्धुलीले ३ लाख रुपैयाँ तथा होटल संघ नेपाल सिन्धुलीले १ लाख २ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेका छन् ।

रसुवाको विपद्पछि सिन्धुलीका शैक्षिक संस्था, व्यावसायिक संगठन, नागरिक समाज र सर्वसाधारणबाट स्वतःस्फूर्त रूपमा मानवीय ऐक्यबद्धता प्रकट भएको प्रशासनले जनाएको छ । यस्तो सहयोगले प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विस्थापित नागरिकको सुरक्षित पुनर्वास, आधारभूत सेवा पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दीर्घकालीन सहकार्य आवश्यक रहने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया