शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बाढीपहिरो पीडितको उद्धारमा विद्यालयहरूको संस्थागत साथ

सोमवार , भाद्र १५, २०८३


सिन्धुली,१५ भदौ – रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सिन्धुलीका विभिन्न विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएका छन् । विपद्का कारण धेरै परिवार घरबारविहीन बनेका छन् भने कतिपयले आफन्तसमेत गुमाएका छन् । प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।

साइनिङ मुन बोर्डिङ स्कुल कमलामाई नगरपालिका –५ मधुटारले रसुवाका बाढीपहिरो पीडितका लागि रु. ५१,१११ सहयोग प्रदान गरेको छ । विद्यालयले उक्त रकम प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा प्रयोग होस् भन्ने अपेक्षासहित उपलब्ध गराएको जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले  विपद्को समयमा आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोगलाई मानवीय सहायताको एउटा प्रयासका रूपमा अघि सारेको बताए ।

यसैबीच, सिन्धुलीको रातामाटास्थित सूर्योदय बोर्डिङ स्कुलले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि रु. १,११,१११ सहयोग गरेको छ । विद्यालयका तर्फबाट सोनी पाण्डेले जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा संस्थापक सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

रसुवामा गएको बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा टेवा पु¥याउने उद्देश्यले विद्यालय परिवारका तर्फबाट रकम प्रदान गरिएको पाण्डेले बताए । उनका अनुसार विपद्का बेला संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणपछि विद्यालय प्रशासनले विपदमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संकटको यस घडीमा सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिक समाज एकजुट भएर मानवीय सहायता तथा पुनःस्थापनामा सक्रिय हुनुपर्नेमा विद्यालय प्रशासनले जोड दिएको छ ।

विद्यालयहरूले उपलब्ध गराएको सहयोगले प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । बाढीपहिरोपछि विस्थापित नागरिकको सुरक्षित पुनर्वास, आधारभूत सेवा पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दीर्घकालीन सहकार्य आवश्यक देखिएको छ ।

प्रतिक्रिया