सिन्धुली — रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा फसेर सम्पर्कविहीन भएका सिन्धुलीका चार जनाको सकुशल उद्धार गरी गृह जिल्ला ल्याइएको छ । रोजगारीका क्रममा रसुवागढी हाइड्रोपावरमा कार्यरत उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी आइतबार सिन्धुली ल्याइएको हो ।
उद्धार हुनेमा कमलामाई नगरपालिका–११ का भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । गत भदौ १० गते रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा आएको विपद्पछि उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए । त्यसपछि उनीहरूको अवस्थाबारे जानकारी लिन तथा खोजी कार्य अघि बढाउन परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि र नगरपालिकाले पहल गरेका थिए ।
कमलामाई नगरपालिकाले खोजी तथा उद्धारका लागि सवारीसाधन उपलब्ध गराएको थियो । त्रिशूली आर्मी ब्यारेकको सहयोग तथा कमलामाई नगरपालिका–११ का वडा सदस्य अजय दोङ तामाङको विशेष समन्वयमा परिवारका सदस्यहरूले रसुवा क्षेत्र पुगेर उनीहरूको खोजी गरेका थिए । समन्वयात्मक प्रयासपछि चारै जनालाई सुरक्षित अवस्थामा फेला पारेर उद्धार गर्न सम्भव भएको जनाइएको छ ।
काठमाडौँ हुँदै सुरक्षित यात्रा गराएर उनीहरूलाई आइतबार सिन्धुली ल्याइएको हो । जिल्ला प्रवेश गरेपछि कमलामाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जनप्रतिनिधि र महानुभावहरूले उनीहरूको स्वागत गरेका थिए। स्वागतका क्रममा खादा ओढाएर सम्मानसमेत गरिएको थियो ।
विपद्बाट प्रभावित भई फर्किएका चारै जनालाई कमलामाई नगरपालिकाले राहतस्वरूप प्रतिव्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । उद्धारपछि उनीहरूमा सामान्य स्वास्थ्य समस्या देखिएकाले सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनीहरूको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ ।
यसैबीच, रसुवा र त्रिशूली क्षेत्रमा अझै सम्पर्कविहीन रहेका कमलामाई नगरपालिकाका अन्य नागरिकको खोजी कार्यलाई तीव्रता दिन स्थानीय तहले पहल गरिरहेको छ । नगरपालिकाले सम्बन्धित परिवार, सुरक्षा निकाय तथा स्थानीय संयन्त्रसँग समन्वय गर्दै बेपत्ता नागरिकको विवरण संकलन, अवस्थाको पहिचान र सम्भावित उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।
बाढी तथा पहिरोका कारण रसुवा, त्रिशूली र आसपासका क्षेत्रमा आवागमन तथा सञ्चारसम्पर्क प्रभावित बनेपछि विभिन्न स्थानमा कार्यरत नागरिकको अवस्था बुझ्न कठिनाइ भएको थियो। यस्तो अवस्थामा स्थानीय सरकार, सुरक्षा निकाय र परिवारजनबीचको समन्वयबाट चार युवाको उद्धार सम्भव भएको हो । नगरपालिकाले विपद् प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण जारी राख्ने जनाएको छ ।