सिन्धुली,१४ भदौ — सिन्धुली अस्पतालका विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली बाढीबाट प्रभावित नागरिकलाई उपचार तथा राहत सेवा उपलब्ध गराउन त्रिशूली पुगेको छ । बाढीको सबैभन्दा बढी प्रभाव परेको त्रिशूली बजार क्षेत्रमा पुगेको टोलीले होल्डिङ सेन्टरमा राखिएका पीडितको स्वास्थ्य परीक्षण, औषधि वितरण र राहत सामग्री हस्तान्तरण सुरु गरेको हो ।
सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. सुशान्त कुमार खड्काको नेतृत्वमा गएको टोलीमा जनरल सर्जन डा. दिन्जुल कटुवाल, डा. समुन्द्र बुढाथोकी, हेल्थ असिस्टेन्ट बिमलेश यादव र सुदिप भुजेल सहभागी छन् । टोलीले सिन्धुलीबाटै आवश्यक औषधि तथा राहत सामग्री लिएर त्रिशूली पुगेको जनाएको छ ।
बाढीका कारण विस्थापित नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । ती केन्द्रमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्ने, दीर्घरोगीलाई आवश्यक औषधि उपलब्ध गराउने तथा जोखिममा रहेका बिरामीलाई थप उपचारका लागि पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको डा. दिन्जुल कटुवालले बताए ।
डा. कटुवालका अनुसार प्रत्येक होल्डिङ सेन्टरमा करिब नब्बेदेखि एक सयसम्म बाढीपीडित रहेका छन् । टोलीले आइतबार एउटा केन्द्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने सोमबार अन्य केन्द्रमा पुगेर सेवा विस्तार गर्ने योजना बनाइएको छ ।
“त्रिशूलीमा रहेका होल्डिङ सेन्टरहरूमा स्वास्थ्य शिविर तथा राहत वितरणका लागि खटिएका छौँ,” डा. कटुवालले भने, “प्रत्येक होल्डिङ सेन्टरमा करिब नब्बे–एक सय जना बाढीपीडित राखिएको रहेछ । आज आइतबार हामी एउटा सेन्टरमा गएका थियौँ । भोलि सोमबार अन्य सेन्टरहरूमा जानेछौँ ।”
टोलीले पहिलो दिन करिब सत्तरी जना बाढीपीडितको स्वास्थ्य जाँच गरी आवश्यक औषधि वितरण गरेको जनाएको छ । स्वास्थ्य परीक्षणसँगै सिन्धुलीबाट लगिएको राहत सामग्री पनि पीडित परिवारलाई वितरण गरिएको डा. कटुवालले जानकारी दिए ।
बाढीका क्रममा धेरै नागरिकले नियमित सेवन गर्दै आएका उच्च रक्तचाप, मधुमेह लगायतका औषधि र चिकित्सकीय पर्चा गुमाएको पाइएको उनले बताए । त्यसका कारण बिरामीको स्वास्थ्य अवस्था पुनः परीक्षण गरी आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको जनाइएको छ ।
“अधिकांश पीडितहरूले खाइआएका प्रेसर, सुगरलगायतका औषधि र प्रेस्किप्सनसमेत हराएका हुँदा उनीहरूको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ,” डा. कटुवालले भने । उनले थपे, “धेरै पीडितमा डिप्रेसन हुन लागेको पनि पाइएको छ ।”
बाढीपछिको विस्थापन, सम्पत्तिको क्षति र अनिश्चित अवस्थाका कारण प्रभावित नागरिकमा शारीरिकसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेकाले निरन्तर स्वास्थ्य सेवा आवश्यक रहेको टोलीको निष्कर्ष छ । टोलीले बाँकी होल्डिङ सेन्टरमा समेत पुगेर बाढीपीडितको स्वास्थ्य परीक्षण, औषधि वितरण र राहत सहयोगलाई निरन्तरता दिने जनाएको छ ।