सिन्धुली ,१४ भदौ — सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ग्वाङ खोलामा नुहाइरहेकी १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमाडीका अनुसार आइतवार दिउँसो करिब १२ बजेर ४५ मिनेटमा झोलुङ्गे पुलमुनि घटना भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि परिचालित प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण प्रहरीले सार्वजनिक गरेको छैन । पीडित बालिकाको पहिचानसमेत गोप्य राखिएको छ । आरोपितमाथि प्रचलित कानुनबमोजिम थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको वास्तविक अवस्था, आरोपितको संलग्नता र आवश्यक प्रमाण संकलनका लागि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाा प्रहरी निरीक्षक उज्वल कार्कीले जारी गरेको प्रेस नोटमा पक्राउपछि थप अनुसन्धान कार्य जारी रहेको उल्लेख छ ।
कार्यालयले अनुसन्धानको प्रगतिअनुसार घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने जनाएको छ ।