शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमला मावि ढुंग्रेबासका पूर्वविद्यार्थीको बृहत् भेला असोजमा गर्ने तयारी

शनिवार , भाद्र १३, २०८३

सिन्धुली,१३ भदौ– सिन्धुलीको कमला माध्यमिक विद्यालय, ढुंग्रेबासका पूर्वविद्यार्थीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने उद्देश्यसहित आगामी असोजमा पूर्वविद्यार्थी भेला आयोजना गर्ने तयारी गरिएको छ । विद्यालयमा अध्ययन गरेका अग्रज तथा ज्येष्ठ पुस्ताका पूर्वविद्यार्थीलाई सम्मान गर्दै उनीहरूको सहभागिता सहज बनाउने लक्ष्यले राजधानी काठमाडौंमा भेला गर्ने प्रारम्भिक तयारी अघि बढाइएको हो ।

पूर्वविद्यार्थी समाज, कमला माविका संयोजक अम्बरदीप देवकोटाका अनुसार विद्यालयका पूर्वविद्यार्थीहरूको योगदान र अनुभवलाई संस्थागत रूपमा जोड्न भेला आयोजना गर्न लागिएको हो । उनले राजधानीमा कार्यक्रम गर्दा विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीलाई सहभागी हुन सहज हुने बताए । कार्यक्रममार्फत अग्रज पुस्ताको सम्मान गर्नुका साथै विद्यालयसँग सम्बन्धित पुराना स्मृति, अनुभव र योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखिएको छ ।

तर, केही पूर्वविद्यार्थीले ज्येष्ठ नागरिक तथा अग्रजहरूको स्वास्थ्य, आवतजावत र अनुकूलतालाई ध्यानमा राख्दै काठमाडौंको सट्टा धुलिखेलमा कार्यक्रम आयोजना गर्न उपयुक्त हुने सुझाव दिएका छन् । उनीहरूका अनुसार धुलिखेलको भौगोलिक अवस्थिति र शान्त वातावरणले अग्रज पूर्वविद्यार्थीलाई कार्यक्रममा सहभागी हुन थप सहज बनाउन सक्छ ।

कार्यक्रमस्थल र भेलाको स्वरूपबारे छलफल गर्न शनिबार सिन्धुलीस्थित कमला माध्यमिक विद्यालयको प्रांगणमा पूर्वविद्यार्थीहरूको भेला आयोजना गरिएको थियो । भेलामा सहभागीहरूले पूर्वविद्यार्थी समाजको गतिविधि कुनै व्यक्तिगत स्वार्थ वा प्रचारमुखी उद्देश्यमा सीमित हुन नहुने धारणा राखेका थिए । उनीहरूले समाजका आगामी कार्यक्रम पारदर्शी, समावेशी र विद्यालयको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

भेलामा कमलामाई नगरपालिकाका मेयर तथा कमला माध्यमिक विद्यालयका पूर्वविद्यार्थी उपेन्द्र पोखरेल, नेपाली काँग्रेस सिन्धुलीका नेता माणिक ढकाल, विद्यालयका पूर्व तथा बहालवाला शिक्षक–शिक्षिका र उल्लेखनीय संख्यामा पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयको शैक्षिक विकास, पूर्वविद्यार्थीको भूमिकालाई प्रभावकारी बनाउने उपाय तथा आगामी भेलाको व्यवस्थापनबारे विचार आदानप्रदान गरेका थिए ।

यसै क्रममा पूर्वविद्यार्थी समाजलाई वर्षमा एकपटक भेटघाट गर्ने संस्थामा मात्र सीमित नगरी डिजिटल युगअनुकूल पुनर्संरचना गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ । प्रस्तावअनुसार सिन्धुली र काठमाडौंमा मात्र नभई नेपाल तथा विश्वका विभिन्न स्थानमा रहेका कमला माविका पूर्वविद्यार्थीलाई एउटै डिजिटल माध्यमबाट जोड्ने ‘डिजिटल कमला एलुम्नाइ नेटवर्क’ स्थापना गर्न सकिनेछ ।

यस सञ्जालमार्फत विद्यालयका अग्रजहरूको इतिहास, अनुभव र योगदानलाई डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने, सफल पूर्वविद्यार्थीलाई वर्तमान विद्यार्थीका लागि मार्गदर्शक तथा परामर्शदाता बनाउने र रोजगारी, छात्रवृत्ति तथा अन्य अवसरहरूबीच सहकार्य विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावमा कमला माध्यमिक विद्यालयमा अध्ययन गरेको कुनै विद्यार्थीलाई भविष्यमा सहयोग, परामर्श वा अवसर आवश्यक पर्दा संसारका जुनसुकै स्थानमा रहेका आफ्ना विद्यालयका दाजुभाइ तथा दिदीबहिनीहरूसँग सम्पर्क स्थापित गर्न सक्ने वातावरण तयार गरिनुपर्छ । यस दृष्टिले आगामी भेला विगतको सम्झना गर्ने अवसरमा मात्र सीमित नभई विद्यालय र विद्यार्थीको भविष्य निर्माण गर्ने दीर्घकालीन डिजिटल अभियानको आधार बन्नुपर्नेमा जोड दिइएको छ ।

 

प्रतिक्रिया