शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भोटेकोशीको बाढीले बगाएको सेफ तोडेर रकम चोरीको आरोपमा २९ जना पक्राउ

शनिवार , भाद्र १३, २०८३

धादिङ,१३ भदौ –  धादिङ प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बताइएको नगद रकम रहेको सेफ तोडफोड गरी रकम चोरी गरेको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले बगाएको सेफ धादिङको गजुरी गाउँपालिका–४, बेल्खुखोला क्षेत्रस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । स्थानीयवासीले सेफ तोडफोड गरी भित्र रहेको, यकिन हुन बाँकी रकम आपसमा बाँडफाँट गरेर लगेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

घटनाबारे गत साउन १२ गते सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नताको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूबाट उक्त रकम बरामद भएको जनाइएको छ ।

प्रहरीले बरामद रकमको वास्तविक स्रोत तथा सेफभित्र रहेको कुल रकम यकिन गर्न अनुसन्धान जारी राखेको छ । बाढीले बगाएर ल्याएको सेफ कसको हो, त्यसमा कति रकम थियो र घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएकामध्ये गल्छी गाउँपालिका–४ का २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेडवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिवबहादुर राना मगर, ४६ वर्षीय धवराज अधिकारी, ४७ वर्षीय शुशान्त श्रेष्ठ, ४६ वर्षीय सुजनबहादुर राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर र १९ वर्षीय अनिल भेटवालको नाम सार्वजनिक गरिएको छ । प्रहरीले अन्य नियन्त्रणमा रहेका व्यक्तिको विवरण अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बरामद नगदको स्रोत पहिचान र घटनासँग जोडिएका सम्भावित सबै पक्षमाथि कानुनबमोजिम अनुसन्धान अघि बढाइएको स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया