सिन्धुली,११ भदौ — रसुवा जिल्लाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढी, पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सिन्धुलीमाडी स्थित भगवती अंग्र्रेजी माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम उपलब्ध गराएको हो । विद्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार उप्रेतीले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
हालै भोटेकोसी, रसुवा तथा अन्य विभिन्न जिल्लामा भएको भीषण बाढी र पहिरोका कारण जनधनको क्षति, विस्थापन तथा स्थानीय बासिन्दाको दैनिक जीवनमा गम्भीर असर परेको सन्दर्भमा विद्यालयले मानवीय सहायताका लागि योगदान गरेको जनाएको छ । सहयोग रकम विपद्पीडितको राहत तथा उद्धार कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।
सहयोग रकम हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार उप्रेतीले विपदमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै प्राकृतिक विपद्को पीडामा परेका नागरिकलाई सम्भव भएसम्म सहयोग गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
उप्रेतीले भने, “मानवीय सहयोगमा सबै जुटौँ, सकेको सहयोग गर्न नछुटौँ ।” उनको यस आग्रहले विपद्का समयमा सरकारी निकायसँगै शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिक समुदायको सहकार्य आवश्यक रहने सन्देश दिएको छ ।
भगवती अंग्रेजी माध्यमिक विद्यालयले यसअघि पनि विभिन्न दैवी प्रकोप तथा सामाजिक सेवासम्बन्धी कार्यमा मानवीय सहयोग गर्दै आएको छ । विद्यालयको पछिल्लो सहयोगलाई स्थानीयस्तरबाट विपद्पीडितप्रतिको उत्तरदायित्व र सामाजिक प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ ।
प्राकृतिक विपद्का घटनाले प्रभावित क्षेत्रमा राहत सामग्री, अस्थायी आवास, स्वास्थ्य सेवा, खानेपानी तथा उद्धार व्यवस्थापनको आवश्यकता बढाइरहेका बेला यस्ता सहयोगले पीडित परिवारको तत्कालीन आवश्यकतामा केही सहारा पुग्ने अपेक्षा गरिएको छ ।