शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रसुवाको बाढीपछि सिन्धुली कमलामाईका १७ जना सम्पर्क विहीन

बुधवार , भाद्र १०, २०८३


सिन्धुली,१० भदौ – रसुवा लगायत बाढी प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सिन्धुलीवासीको अवस्थाबारे जानकारी दिन कमलामाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत फेलापार्नृ हुने वा केही जानकारी भएमा सम्बन्धित व्यक्तिका आफन्तलाई सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो ।

नगरपालिकाका अनुसार हालसम्म प्राप्त विवरणमा कमलामाई नगरपालिका–११ का लक्ष्मण सापकोटा, राजकुमार श्रेष्ठ, बलबहादुर माझी, भक्तबहादुर माझी, सोमबहादुर माझी, भरत माझी, शंकर खत्री, टंकबहादुर श्रेष्ठ, बुद्धि विष्णु थापा (सुनिल), विष्णुबहादुर श्रेष्ठ, प्रेमबहादुर घलान, बलबहादुर माझी, सुनिल माझी, राजन रसैेली, केवुलबहादुर थापा र पाण्डव भण्डारी परिवारको सम्पर्कमा नआएको उल्लेख छ । सूचनामा केही नाम तथा स्थायी ठेगानासम्बन्धी विवरण हस्तलिखित रूपमा संशोधन गरिएको देखिन्छ ।

नगरपालिकाले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा तत्काल जानकारी गराउन भनेको छ । आफन्तसँग सम्पर्क हुन नसकेका व्यक्तिका विषयमा नगरपालिकाले सार्वजनिक गरेको मोबाइल नम्बरमा समेत सूचना दिन सकिने जनाएको छ । सूचनामा ९८४९०५४५००, ९८४९०४१९००, ९८४९०४२९१२, ९८४९०४०११९, ९८६९७०४०३ लगायतका सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

यसैबीच, रसुवामा आएको भीषण बाढीका कारण त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कमलामाई नगरपालिका–६, राममाढी निवासी खग्रेन्द्र मंग्राती पनि बुधबार बिहानदेखि परिवारको सम्पर्कमा आएका छैनन । उनँका दाजु प्रेमबहादुर मंग्रातीले निरन्तर खोजी भइरहेको जानकारी दिए ।

प्रेमबहादुरका अनुसार बिहान करिब ८ बजे भाइसँग अन्तिमपटक कुराकानी भएको थियो । त्यसबेला खग्रेन्द्रले सुरुङभित्र काममा जान लागेको बताएका थिए । त्यसपछि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन । आयोजनाको सुरुङभित्र करिब ८० देखि ९० जना कामदार फसेको र उनीहरूको उद्धार हुन नसकेको जानकारी आएको प्रेमबहादुरले बताए  ।

नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा रहेका सिन्धुलीवासीको पहिचान, सुरक्षा अवस्था र उद्धार कार्यमा सहजीकरण गर्न सबै पक्षलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ । साथै, अपुष्ट सूचना प्रवाह नगरी प्रमाणित विवरण मात्र प्रहरी, स्थानीय तह वा प्रशासनसमक्ष पठाउन अनुरोध गरिएको छ ।


sinndhuli.jpg
undefined

प्रतिक्रिया