काठमाडौं,१० भदौ — वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सिन्धुलीका एकजन सहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–९ मा बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० मा बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं महानगरपालिका–३ मा बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ मा बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा तथा काठमाडौं महानगरपालिका–१५ मा बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोमकुमारी थापा छन् ।
प्रहरीका अनुसार करिना देवकोटाले लिथुआनिया पठाउने आश्वासन दिँदै एक जनाबाट दुई लाख ५० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएको आरोप छ ।
त्यस्तै, सुष्मा भण्डारीले एक जना पीडितलाई चेक रिपब्लिक पठाइदिने भन्दै पाँच लाख ३५ हजार रुपैयाँ लिएकी थिइन् । त्यसपछि उनी पीडितसँग सम्पर्कविहीन भएको उजुरी परेको थियो ।साजन खनालले फिनल्यान्ड पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
पेमा लामाले रोमानिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ र तोमकुमारी थापाले माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख ३५ हजार रुपैयाँ लिएको बताइएको छ। रकम लिएपछि उनीहरू पीडितको सम्पर्कमा नरहेको जनाइएको छ ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सुष्मा भण्डारीलाई शुक्रबार बुढानीलकण्ठ नगरपालिका–१० बाट पक्राउ गरेको हो। करिना देवकोटा र साजन खनाललाई आइतबार काठमाडौं महानगरपालिका–३ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, पेमा लामालाई सोमबार काठमाडौं महानगरपालिका–१२ बाट तथा तोमकुमारी थापालाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट भएको रकम असुली, रोजगारीको आश्वासन र पीडितसँगको सम्पर्कसम्बन्धी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ । प्रहरीले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी, अनुमति, कागजात र सरकारी निकायबाट उपलब्ध विवरणबारे यकिन गर्न आग्रह गरेको छ ।