सिन्धुली,१० भदौ – सिन्धुलीको कमलामाई नगरपालिका–२, ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटना मंगलवार साँझ करिब ६ः२० बजे भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार इटहरीबाट काठमाडौं जाादै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ आउदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल ढुंग्रेभञ्ज्याङ क्षेत्रमा आपसमा ठोक्किएका थिए । तीव्र गतिमा रहेका दुवै सवारीसाधनमध्ये कुनै एकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–५ निवासी १९ वर्षीय राजु यादव र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका थिए । दुर्घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, सिन्धुली ल्याइएको थियो ।
अस्पतालमा उपचार भइरहेका क्रममा मोटरसाइकल चालक राजु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ । चिकित्सकको निगरानीमा उपचाररत रुपेश महतोको स्वास्थ्य अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रकका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ३९ वर्षीय केशव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकसहित उनलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले दुर्घटनास्थलको मुचुल्का, सवारीसाधनको अवस्था, चालकहरूको विवरण तथा प्रत्यक्षदर्शीसँगको जानकारी संकलन गरिरहेको जनाएको छ । राजमार्गमा सवारी चलाउँदा गति नियन्त्रण, लेन अनुशासन र सावधानी अपनाउन प्रहरीले चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ ।
बीपी राजमार्गमा पछिल्लो समय सवारी चाप बढेसँगै दुर्घटनाको जोखिमसमेत बढिरहेको भन्दै प्रहरीले सडकको अवस्था, मोड तथा भीरालो क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । घटनासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।