मन्त्रीपरिषद्कै आकारमा सांसद कार्कीको सचिवालय

सोमवार , भाद्र ८, २०८३

सिन्धुली,०८ भदौ  –सिन्धुली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीले १६ सदस्यीय सचिवालय गठन गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्मा १७ जना मन्त्री रहेको सन्दर्भमा सांसद कार्कीको सचिवालयको संरचना पनि त्यसकै हाराहारीमा देखिएको हो । सांसद कार्कीका अनुसार सचिवालयमा एक जना मात्र वैतनिक प्रमुख स्वकीय सचिव छन् भने बाँकी १५ जना अवैतनिक रूपमा जिम्मेवारीमा रहनेछन् ।

सांसद कार्कीको सचिवालयमा मनिष कार्कीलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । रेशम पोखरेल प्रमुख राजनीतिक सल्लाहकार तथा विजय कार्की राजनीतिक सल्लाहकारका रूपमा नियुक्त भएका छन् । शिक्षा सल्लाहकारको जिम्मेवारी भोला मान सिंह राउतलाई दिइएको छ । अधिवक्ता अञ्जना गौतम र अधिवक्ता अभिषेक राउत कानुनी सल्लाहकारका रूपमा रहनेछन् ।

त्यसैगरी, सागर खत्रीलाई क्षेत्रीय विभाग संयोजक र देवबहादुर बुढाथोकीलाई व्यवस्थापन संयोजक तोकिएको छ । सृष्टि गौतम सञ्चार तथा कानुनी सल्लाहकारका रूपमा सचिवालयमा समेटिएकी छन् । सूचना, प्रविधि तथा सञ्चार विभागको जिम्मेवारी साकmार कोइरालालाई दिइएको छ ।

सचिवालय सदस्यका रूपमा रमेश खत्री, मेघबहादुर खत्री, गुन्जबहादुर कार्की, प्रेमबहादुर कार्की, सुवास अर्याल र विवश थापा रहेका छन् । यसरी सचिवालयमा राजनीतिक, कानुनी, शैक्षिक, व्यवस्थापकीय, सञ्चार तथा क्षेत्रीय समन्वयसँग सम्बन्धित जिम्मेवारी छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको छ ।

सांसद कार्कीले सचिवालय गठनको उद्देश्य जनताको आवाजलाई प्रभावकारी रूपमा संसद्सम्म पु¥याउनु र नीति निर्माणको तहमा त्यसलाई सम्बोधन गर्न सहयोग गर्नु रहेको बताएका छन् । उनका अनुसार सचिवालयले निर्वाचन क्षेत्रका नागरिकका समस्या, सुझाव तथा अपेक्षालाई व्यवस्थित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पु¥याउने काम गर्नेछ ।

सचिवालयका सदस्यहरूको कार्यविभाजनमार्फत जनसम्पर्क, अध्ययन, कानुनी परामर्श, सूचना आदानप्रदान, क्षेत्रीय समन्वय र व्यवस्थापनका कामलाई संस्थागत बनाउने तयारी गरिएको जनाइएको छ । सांसदको संसदीय भूमिका तथा निर्वाचन क्षेत्रसँगको समन्वयलाई प्रभावकारी बनाउन सचिवालयले आवश्यक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । वैतनिक र अवैतनिक दुवै प्रकृतिका सदस्य समेटिएको यो संरचनाले सांसदको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने दाबी गरिएको छ ।

प्रतिक्रिया