शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली अस्पताल सुधारमा सांसद गजुरेलको प्रतिबद्धता

आइतवार , भाद्र ७, २०८३


सिन्धुली,०७ भदौ — सिन्धुली अस्पतालमा देखिएका व्यवस्थापकीय कमजोरी, जनशक्ति अभाव र भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधानका लागि अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा व्यवस्थापन समितिले सरोकारवाला निकायसँग समन्वय अघि बढाएका छन् । अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आयोजित समीक्षा तथा छलफलमा सांसद आशिष गजुरेलले आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अस्पतालको सभाहलमा भएको कार्यक्रममा अस्पताल प्रमुख, व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न विभागका चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए । सहभागीहरूले दैनिक सेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या प्रस्तुत गर्दै समाधानका लागि तत्काल र दीर्घकालीन कदम चाल्न आग्रह गरे ।

स्वास्थ्यकर्मीका अनुसार बिरामीको चापअनुसार दरबन्दीका स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारी नहुँदा कामको दबाब बढेको छ । अस्पताल परिसरमा पर्याप्त सुरक्षा गार्डको व्यवस्था नहुँदा असुरक्षाको अवस्था सिर्जना भएको उनीहरूको भनाइ थियो । सेवा प्रदान गर्ने क्रममा स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार र अनुमतिबिना मोबाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिले कर्मचारीको मनोबलमा नकारात्मक असर परेको गुनासो पनि गरिएको थियो ।

छलफलमा अस्पतालमा सघन उपचार कक्ष र नवजात शिशु सघन उपचार कक्षको पर्याप्त व्यवस्था नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको विषय उठ्यो । एक्स–रे मेसिनलगायत अत्यावश्यक उपकरणको अभाव तथा औषधि खरिद प्रक्रियामा देखिएका जटिलताप्रति पनि ध्यानाकर्षण गराइएको थियो ।

स्वास्थ्यकर्मीहरूले डिजिटल भुक्तानी प्रणाली व्यवस्थित नहुँदा सेवाग्राहीले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था रहेको बताए । अस्पताल परिसरमा राखिएको कुमारी बैंकको एटीएम नियमित सञ्चालनमा आउन नसकेको विषयसमेत उठाइएको थियो । यसैगरी स्वास्थ्यकर्मीलाई प्रदान गरिने प्रोत्साहन भत्ता वितरणमा रहेको असमानता हटाउन माग गरिएको थियो ।

जवाफमा अस्पताल प्रमुखले आन्तरिक व्यवस्थापकीय कमजोरी तत्काल सुधार गरी सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने बताए । डिजिटल भुक्तानी प्रणाली लागू गर्न आवश्यक प्रक्रिया अघि बढाइएको, भिड व्यवस्थापनका लागि स्थानीय सरोकारवालासँग समन्वय गरी स्वयंसेवक परिचालन गरिने तथा औषधि आपूर्ति नियमित बनाइने उनले जानकारी दिए । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन निष्पक्ष बनाउने विषयमा प्रशासन संवेदनशील रहेको पनि उनले उल्लेख गरे ।

सांसद गजुरेलले सिन्धुली अस्पताललाई जिल्लाको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गर्न आफ्नो पूर्ण सहयोग रहने बताए । एक्स–रे मेसिन, उपकरण, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति र सेवा विस्तारका लागि मन्त्रालय तथा प्रदेश सरकारसँग आवश्यक बजेट र स्रोतसाधन माग गर्न व्यवस्थापन समितिले तत्काल औपचारिक निर्णय गरी पठाउनुपर्ने उनले बताए । समितिको निर्णय प्राप्त भएपछि सम्बन्धित निकायमा ध्यानाकर्षण गराई जनशक्ति तथा स्रोत व्यवस्थापनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया