शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पलाञ्चोक भगवतीको मूर्तिमा पसिना

आइतवार , भाद्र ७, २०८३


काभ्रेपलाञ्चोक,०७ भदौं — पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ आरतीका क्रममा मूर्तिमा पसिना देखिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरमा विशेष पूजा तथा क्षमायाचनासहितका धार्मिक विधि सम्पन्न गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।

मन्दिर व्यवस्थापन उपसमितिका पूर्वसंयोजक किरण श्रेष्ठका अनुसार देशमा दैवी विपत्ति वा राजनीतिक संकट आउनुअघि पलाञ्चोक भगवतीको मूर्तिमा विभिन्न संकेत देखिने र पसिना आउने परम्परागत विश्वास छ । “देशमा दैवी प्रकोप वा राजनीतिक संकटको अवस्था आउँदा विगतमा पनि पटक–पटक मूर्तिमा पसिना आएको देखिएको छ,” श्रेष्ठले भने ।

स्थानीय अभिलेख तथा जनविश्वासअनुसार गत वर्षको जेनजी आन्दोलनका क्रममा, २०८१ सालको बाढीपहिरो, २०७२ सालको भूकम्प र २०५८ सालको दरबार हत्याकाण्डअघि पनि मूर्तिमा पसिना आएको थियो । १९९० सालदेखि नै विभिन्न दैवी प्रकोप तथा राजनीतिक संकटका समयमा यस्ता घटना दोहोरिँदै आएको स्थानीयको भनाइ छ ।

मूर्तिमा पसिना देखिएपछि शनिबार राति नै भगवतीको मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरिएको थियो । मन्दिरमा नियमित पूजाआजासँगै दर्शनार्थीको भीड लाग्ने गरेको छ । दशैंको नवरात्रिमा यहाँ हाँस, बोका र राँगा बलि दिने चलन छ । वैशाख पूर्णिमा, माघे सङ्क्रान्ति र जेठ पूर्णिमालगायतका अवसरमा पनि मन्दिर परिसरमा मेला लाग्ने गर्छ। वैशाख पूर्णिमा तथा दशैंको एकादशीका दिन रथ निर्माण गरी मन्दिर परिक्रमा गराउने परम्परा छ ।

पलाञ्चोक भगवतीको मन्दिर इस्वी संवत् ४२५ तिर निर्माण भएको मानिन्छ, जसअनुसार यसको इतिहास करिब एक हजार ६५५ वर्ष पुरानो छ । भगवतीलाई तीन दिदीबहिनीमध्ये जेठी दिदीका रूपमा समेत चिनिन्छ ।

किंवदन्तीअनुसार बुच्चाकोटमा रहेको मूर्ति एक स्थानीय वृद्धको सपनामा प्रकट भई आफूलाई उत्तरतर्फ सार्न आग्रह गरेकी थिइन् । मूर्ति सार्ने क्रममा हालको मन्दिरस्थलमा रात परेपछि त्यहीँ राखिएको र भोलिपल्ट अन्यत्र लैजान खोज्दा ६० घरधुरीका मानिसले प्रयास गर्दा पनि उठाउन नसकेपछि सोही स्थानमा स्थापना गरी पूजा गर्न थालिएको हो।

अर्को जनश्रुतिअनुसार सोही कालमा कालीगढले दाहिने हातले पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले नक्साल भगवती र गोडाले शोभा भगवतीका मूर्ति निर्माण गरेका थिए । सबैभन्दा पुरानो तथा दाहिने हातबाट बनाइएको मानिने भएकाले पलाञ्चोक भगवती देशकै चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ ।

पृथ्वीनारायण शाहको एकीकरणपछि मन्दिरमा पुजारी, पहरी, कसाइ, कुस्ले तथा गुठियारको जिम्मेवारी बाँडफाँट गरिएको किंवदन्ती छ । पुजारीले नित्यपूजा गर्ने, पहरीले रथ बोक्ने र पूजाका लागि फूल ल्याउने, कसाइले बलिसम्बन्धी काम गर्ने तथा कुस्लेले पूजाका समयमा बाजा बजाउने परम्परा रहेको बताइन्छ ।

प्रतिक्रिया