शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

श्रमदानले बन्यो लङुरखोलाको गाउँको बाटो

शनिवार , भाद्र ६, २०८३

 

सिन्धुली,०६ भदौ — विकासका लागि सधैं सरकारी निकायको मात्र मुख ताक्ने प्रवृत्तिलाई चुनौती दिँदै सिन्धुलीको तीनपाटन गाउँपालिका–५ लङुरखोलाका स्थानीय बासिन्दाले सामूहिक श्रमदानबाट गाउँ जाने सडक निर्माण गरेका छन् । स्थानीयको सक्रिय पहलमा लङुरखोला दैभरेदेखि तिनसिम्लेसम्म पुग्ने बाटो निर्माण गरिएको हो ।

गाउँको आवश्यकता पूरा गर्न स्थानीय युवा, महिला तथा अग्रज नागरिकहरू एकजुट भएर सडक निर्माण अभियानमा सहभागी भएका हुन् । टेकबहादुर लामिछानेको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने समाजका अग्रज व्यक्तित्व तथा अन्य स्थानीयवासीले समेत श्रमदान र विभिन्न माध्यमबाट सहयोग गरेका थिए ।

सडक निर्माण अभियानलाई थप सहज बनाउन तीनपाटन गाउँपालिका–१० का व्यवसायी मीनबहादुर घोले र नरबहादुर घोले (नारान) ले ट्र्याक्टर उपलब्ध गराएर सहयोग गरेका छन् । स्थानीयवासीले आफ्नो श्रम, समय र आवश्यक साधन जुटाउँदै सामूहिक प्रयासबाट गाउँ जोड्ने महत्वपूर्ण पूर्वाधार निर्माणको काम अघि बढाएका हुन् ।

अभियानमा सहभागी स्थानीयवासीका अनुसार विकास निर्माणका लागि सम्बन्धित निकायको सहयोग आवश्यक भए पनि समुदाय आफैं सक्रिय र जिम्मेवार बन्न सके धेरै महत्वपूर्ण कामहरू स्थानीयस्तरमै सम्पन्न गर्न सकिन्छ। उनीहरूले सामूहिक श्रमदानले सडक निर्माण मात्र नभई स्थानीयबीच आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना समेत बलियो बनाएको बताएका छन् ।

अभियानका अगुवाहरूले समाज परिवर्तन केवल भाषण र आश्वासनबाट सम्भव नहुने भन्दै व्यवहारमा श्रम, सहकार्य र प्रतिबद्धता देखाउनुपर्ने धारणा व्यक्त गरेका छन् । आफ्नो गाउँको विकासका लागि स्थानीयवासी नै अग्रसर र जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीयले सडक निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि गाउँ विकासका लागि यस्ता सामूहिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
“आफ्नो गाउँ, आफ्नै जिम्मेवारी” भन्ने भावनाका साथ सुरु गरिएको यो अभियानले समुदायको एकता र सक्रिय सहभागिताबाट स्थानीय विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया