शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नागरिकमैत्री बन्दै कमलामाईको सेवा

शनिवार , भाद्र ६, २०८३


सिन्धुली,०६ भदौ — कमलामाई नगरपालिका वडा नं. २, कुशुमटारका नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै स्थानीयस्तरमै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सेवा प्रदान गरिएको छ । वडा कार्यालयसम्मको दूरीका कारण ज्येष्ठ नागरिक, अशक्त तथा सेवाग्राहीले भोग्नुपरेको असहजतालाई कम गर्ने उद्देश्यसहित नगरपालिकाले कुशुमटारमै पुगेर नवीकरणसम्बन्धी कार्य सम्पन्न गरेको हो ।

कमलामाई नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको सक्रियतामा सञ्चालन गरिएको उक्त सेवामूलक कार्यक्रममार्फत सेवाग्राहीलाई आफ्नो पायक पर्ने स्थानबाटै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सरकारी सेवा प्रवाह गर्ने नीतिअनुसार वडा क्षेत्रमै पुगेर परिचयपत्र नवीकरणको व्यवस्था मिलाइएको हो ।

गरपालिकाले भौगोलिक अवस्थाका कारण कार्यालयसम्म आउन कठिनाइ हुने नागरिकलाई लक्षित गर्दै घरदैलो तथा नजिकको स्थानबाट सेवा उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयन गर्दै आएको छ । सोही क्रममा वडा नं. २ अन्तर्गत पर्ने कुशुमटारमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नवीकरण कार्य गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै लाभग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुगेको बताइएको छ । कार्यालय केन्द्रित सेवाभन्दा नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरपालिकाले दुर्गम तथा टाढाका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामाजिक सुरक्षा तथा पञ्जीकरणसम्बन्धी कामका लागि वडा कार्यालय धाउनुपर्ने बाध्यता कम भएपछि स्थानीय नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने अवसर पाएका छन्। नगरपालिकाका अनुसार यस्ता सेवा विस्तार कार्यक्रमले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कुशुमटारमा सम्पन्न गरिएको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्यक्रमले स्थानीय तहले नागरिकको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्ने अवधारणालाई व्यवहारमा उतारेको छ । भौगोलिक दूरीका कारण सेवाबाट वञ्चित हुन सक्ने नागरिकलाई प्राथमिकतामा राख्दै कमलामाई नगरपालिकाले आगामी दिनमा पनि सहज पहुँचयुक्त सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया