ललितपुर,०६ भदौ – ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परीक्षणका क्रममा रहेको उक्त ईभी हाइस अनियन्त्रित भई लुभुस्थित नरकट्टेको एक घरको गेटमा ठोक्किएको थियो। त्यसपछि हाइस गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाका कारण कारमा सामान्य क्षति पुगेको छ ।
दुर्घटनामा ईभी हाइस चालक ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला गम्भीर घाइते भएका छन् । उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ । यस्तै, महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन् । उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्दै आएकी १८ वर्षीया एलिसा लामा दुर्घटनामा मध्यम घाइते भएकी छन् । उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन सामान्य घाइते भएका छन्। उनको पनि किस्ट अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनाका बेला उक्त ईभी हाइसमा चालकसहित चार जना मात्र सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण, परीक्षणमा रहेको सवारीको अवस्था तथा अन्य प्राविधिक पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।