शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा एक महिनामै लागूऔषधका ११ मुद्दा, १६ जना पक्राउ

बिहिवार , भाद्र ४, २०८३

सिन्धुली ,०४ भदौ — जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार महिनामा जिल्लाभरका विभिन्न घटनासँग सम्बन्धित ४१ मुद्दा दर्ता भएका छन् । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सार्वजनिक गरेको विवरणअनुसार ज्यान मार्ने उद्योगका तीनमध्ये दुई फछ्र्यौट भई एक बाँकी छ । झुन्डी आत्महत्याका पाँच, बेवारिसे ज्यानका तीन, भवितव्य ज्यानका चार र कुटपिट अंगभंगको एक मुद्दा बाँकी छन् । अभद्र व्यवहारका तीन, चोरीका दुई, लागूऔषधका ११, सवारी ज्यानका तीन, क्रिप्टो तथा आर्थिक कसुरको एक र सवारी अंगभंगको एक मुद्दा फछ्र्यौट भएका छन् । बैंकिङ कसुरका चारमध्ये एक फछ्र्यौट र तीन बाँकी छन् । चालु मुद्दामा ३२ प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोको लामो समयदेखि बाँकी एउटा मुद्दाको अनुसन्धान टुंगिएको छ ।

फैसला कार्यान्वयनमा पाँच जना पक्राउ गरी तीन वर्ष आठ महिना दुई दिन कैद र एक लाख छ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १० उजुरीमा पीडित–पीडक गरी २५ जना जोडिएका छन् । हराएका २५ मध्ये १४ महिला, पाँच बालिका, तीन बालक र तीन पुरुष रहेकोमा नौ महिला, चार बालिका, तीन बालक र तीन पुरुष गरी १९ जना फेला परेका छन् । 

घरेलु हिंसाका नौ शारीरिक र पाँच मानसिक गरी १४ उजुरीमध्ये १० प्रकरण मिलापत्र र दुई अदालत पठाइएका छन् । स्थानीय तहगत विवरणमा कमलामाई र दुधौलीमा दुई–दुई, मरिणमा तीन, हरिहरपुरगढीमा दुई तथा तीनपाटन, गोलन्जोर र घ्याङलेखमा एक–एक गरी १२ प्रकरण छन् । प्रहरीमा प्रत्यक्ष परेका ११ उजुरीमध्ये महिला सेल तथा उजुरी छानबिन शाखाले आठ फछ्र्यौट गरेको छ, तीन बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका नौ उजुरी तथा निवेदनमध्ये छ फछ्र्यौट र तीन बाँकी छन् ।

लागूऔषधका ११ मुद्दामा १६ जना पक्राउ पर्दा १३ दशमलव ४१ ग्राम खैरोहिरोइन, एक किलो १२९ ग्राम गाँजा, छ दशमलव ५७० ग्राम चरेस र एक हजार ६७९ ट्याबलेट बरामद गरिएको छ । पाँच आत्महत्या घटनामा तीन पुरुष, एक महिला र एक बालक छन् । अपराध न्यूनीकरणमा सूचना संक्लन, नागरिक सचेतना, गलत सूचनाको खण्डन, सम्भावित अपराधस्थलमा निगरानी र स्थानीयसँग समन्वयलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

दश सवारी दुर्घटनामा १२ सवारी संलग्न हुँदा दुई जनाको मृत्यु र २२ जना घाइते भए । प्रहरीले २४ जनाको उद्धार गरेको छ भने तीन जना बेपत्ता छन् । हुस्सु–कुहिरो, तीव्र गति तथा साँघुरो र घुमाउरो सडकलाई प्रमुख कारण मानिएको छ । एक हजार ३४० सवारी कारबाहीबाट १४ लाख ९७ हजार रुपैयाँ राजस्व उठेको छ । अवैध हतियार वा गोलीगट्ठा बरामद नभए पनि राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा १७ लाख ७८ हजार ९३ रुपैयाँ बराबरका सामान बरामद भएका छन् ।

विपद्तर्फ दुई आगलागी, दुई बाढी, तीन पहिरो, पाँच हावाहुरी र एक चट्याङमा एक जनाको मृत्यु, तीन घाइते तथा एक घर र तीन गोठमा क्षति पुगेको छ । अनुमानित क्षति दुई लाख २० हजार रुपैयाँ छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणमा तीन ट्र्याक्टर र दुई स्काभेटर नियन्त्रणमा लिएर २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । 

 

प्रतिक्रिया