टर्की पठाइदिने भन्दै ठगी गर्ने सिन्धुलीकी महिला पक्राउ

बिहिवार , भाद्र ४, २०८३


काठमाडौं,०४ भदौ — वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने र आकर्षक तलबसहितको काम दिलाइदिने आश्वासनमा एक व्यक्तिबाट ४ लाख ५५ हजार रुपैयाँ लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०मा बस्दै आएकी ३२ वर्षीया रश्मिका खपाङ्गी छन् । उनलाई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर दसको कपन क्षेत्रबाट मंगलवार  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार खपाङ्गीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि टर्की लैजाने बताएकी थिइन् । लामो समयसम्म विभिन्न बहानामा झुक्याएर विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै एक पीडितले जाहेरी दरखास्त दिएका थिए। सोही जाहेरीमाथि अनुसन्धान अघि बढाउँदा उनी पक्राउ परेको कार्यालयको भनाइ छ ।

प्रहरीको विवरणमा यस घटनामा पीडित संख्या एक जना रहेको तथा लिइएको भनिएको रकम ४ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ । रोजगारीको गन्तव्यका रूपमा टर्की उल्लेख गरिएको छ । पक्राउपछि खपाङ्गीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

 

प्रतिक्रिया