बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बीपी राजमार्ग विस्तार हुँदै, सडक १० मिटर चौडा बनाइने

मंगलवार , भाद्र २, २०८३

सिन्धुली,०२ भदौ — बीपी राजमार्गको प्रवेश क्षेत्र मानिने काभ्रेको धुलिखेलदेखि नमोबुद्ध नगरपालिकास्थित दाप्चा पुलसम्मको सडकलाई फराकिलो बनाउने तयारी अघि बढाइएको छ । बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै राजमार्गको आवागमन सहज बनाउने उद्देश्यसहित करिब २० किलोमिटर लामो सडकखण्ड विस्तार गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार हाल औसत पाँच दशमलव पाँच मिटर चौडाइ रहेको मुख्य कालोपत्रे सडकलाई विस्तार गरी १० मिटर चौडाइको मुख्य कालोपत्रे भाग निर्माण गर्ने योजना छ । प्रस्तावित विस्तारका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन अर्थात् डीपीआर तयार भइसकेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिएका छन् ।

डीपीआरले सडक विस्तारका लागि तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कार्यालयका अनुसार कालोपत्रे सडक निर्माणमा मात्रै प्रतिकिलोमिटर करिब १८ करोड पाँच लाख रुपैयाँ खर्च हुने प्रारम्भिक आकलन छ । आयोजनाको भौतिक संरचना र वातावरणीय पक्षलाई समेटेर अघि बढ्न हाल प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको योगेशले बताए ।

विस्तारको तयारी गरिएको सडकखण्ड काभ्रे जिल्लाका धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ । सडक विस्तारका क्रममा आवश्यक पर्ने क्षेत्र व्यवस्थापनका लागि सडकको दायाँबायाँ १५ मिटरसम्म पर्ने जग्गा तथा त्यहाँ बनेका संरचनाको मुआब्जा यसअघि नै वितरण भइसकेको योगेशले जानकारी दिए । यससँगै सडक विस्तारका लागि आवश्यक प्रारम्भिक प्रक्रियामध्ये जग्गा तथा संरचना व्यवस्थापनको महत्वपूर्ण चरण पूरा भएको कार्यालयको भनाइ छ ।

बीपी राजमार्गको यो खण्ड विस्तार गर्ने तयारी भइरहँदा बाढीपहिरोबाट क्षतिग्रस्त अन्य भागमा पनि स्थायी पुनर्निर्माणको काम अघि बढाइएको छ । २०८१ साल असोजमा आएको भीषण बाढीपहिरोका कारण बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुगेको थियो । विशेषगरी रोशी खोला आसपासका विभिन्न स्थानमा सडक भत्किएपछि नियमित यातायात प्रभावित भएको थियो ।

क्षतिपछि तत्काल आवागमन सुचारु गर्न रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको थियो । अहिले भने प्रभावित क्षेत्रमा दीर्घकालीन समाधानका लागि स्थायी पुनर्निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी कुल चारवटा प्याकेज बनाइएको छ । ती चारै प्याकेजमा ठेक्का सम्झौता भइसकेको र निर्माण कार्यसमेत अघि बढिसकेको कार्यालयले जनाएको छ ।

यसरी एकातर्फ धुलिखेलदेखि दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकलाई १० मिटर मुख्य कालोपत्रे चौडाइमा विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ भने अर्कोतर्फ बाढीपहिरोबाट क्षतिग्रस्त भकुन्डेबेंसी–नेपालथोक खण्डमा स्थायी पुनर्निर्माण भइरहेको छ । दुवै काम सम्पन्न भएपछि बीपी राजमार्गमा सवारी सञ्चालनलाई थप व्यवस्थित, सहज र भरपर्दो बनाउने आधार तयार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया