शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमला नदीमा फसेका बालकसहित तीनको सकुशल उद्धार

सोमवार , भाद्र १, २०८३


सिन्धुली ,०१ भदौ — कमलामाई नगरपालिका–१० स्थित कमला नदीमा पौडी खेल्ने क्रममा पानीको बहाव अचानक बढेपछि नदीको बीच भागमा फसेका बालकसहित तीन जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । घटना आइतवार अपराह्न करिब ४ बजे भएको बागमति प्रदे्रहरी कार्यालय हेटौडाले सोमवार जानकारी दिएको छ ।

प्रहरीका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका–१४ निवासी करिब ३० वर्षीय अविनाश सिंह, सोही स्थानका करिब ४२ वर्षीय अजय मण्डल र मण्डलका करिब ८ वर्षीय छोरा रमेश मण्डल कमला नदीमा पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका बेला नदीमा पानीको बहाव एक्कासि बढेपछि उनीहरू सुरक्षित रूपमा किनारमा फर्कन नसकी खोलाको बीच भागमै फसेका थिए ।

नदीमा तीन जना फसेको जानकारी स्थानीयवासीले अपराह्न ४ बजेर ५ मिनेटमा प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु केसी खत्रीको कमाण्डमा आठ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

घटनास्थल पुगेको प्रहरी टोलीले नदीमा बढेको पानीको बहावबीच आवश्यक उद्धार कार्य सञ्चालन गरी अविनाश सिंह, अजय मण्डल र आठ वर्षीय रमेश मण्डललाई सुरक्षित रूपमा नदीबाट बाहिर निकालेको प्रहरीले जनाएको छ। तीनै जनालाई कुनै मानवीय क्षति हुन नदिई सकुशल उद्धार गरिएको हो ।

स्थानीयबाट समयमै सूचना प्राप्त हुनु र प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन हुनुले नदीको बीचमा फसेका तीनै जनाको सुरक्षित उद्धार सम्भव भएको हो । वर्षायाममा नदी तथा खोलामा पानीको सतह र बहाव छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले पौडी खेल्दा वा नदी क्षेत्रमा प्रवेश गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता यस घटनाले पुनः देखाएको छ ।

प्रतिक्रिया