सिन्धुली,३१ साउन — नेपाली साहित्य, भाषा र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अमर प्राज्ञ स्वर्गीय डा. राजेन्द्र विमलको व्यक्तित्व तथा कृतित्वमाथि केन्द्रित श्रद्धाञ्जली सभा आइतवार सिन्धुलीस्थित कमला सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ । ‘सृजनामार्फत श्रद्धाञ्जली’को भावनासहित आयोजित कार्यक्रममा विभिन्न विधाका सर्जक, साहित्यकार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले विमलका साहित्यिक योगदानको स्मरण गर्दै आफ्ना रचनामार्फत श्रद्धासुमन अर्पण गरेका थिए ।
कमला सामुदायिक पुस्तकालयका कार्यवाहक अध्यक्ष विश्वनाथ बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली, मैथिली, हिन्दी र अंग्रेजीलगायत विभिन्न भाषामा समान दक्षताका साथ सिर्जना गरेका स्रष्टा, द्रष्टा एवं संस्कृतिविद्का रूपमा डा. विमलको बहुआयामिक व्यक्तित्वबारे चर्चा–परिचर्चा गरिएको थियो । साहित्यका विभिन्न विधा, भाषा तथा संस्कृतिको क्षेत्रमा उनले पु¥याएको योगदानलाई वक्ताहरूले विशेष रूपमा स्मरण गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता उमानाथ शास्त्री साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद ढकालले डा. विमलका विभिन्न कविता तथा कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले विमलका सिर्जनामा रहेको साहित्यिक चेतना र बहुभाषिक क्षमताका विविध पक्षमाथि प्रकाश पार्दै उहाँजस्ता वरेण्य स्रष्टाको भौतिक देहावसान अत्यन्त दुःखद हुनुका साथै राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।
श्रद्धाञ्जली सभामा बुढ्यौली साहित्य समाज, सिन्धुलीका अध्यक्ष केशवकुमार फुयाल, जरबुट्टा कलाका सर्जक विश्वम्भर लामिछाने, पूर्व जिल्ला न्यायाधिवक्ता कृष्णप्रसाद बराल तथा समाजसेवी माणिक ढकालको सहभागिता थियो । त्यसैगरी कवयित्री धनमाया राई, मुक्तककार लोकेन्द्र डहरे, स्रष्टा राजेश पोखरेल, अध्यापक लोकमणि तिमल्सिना तथा नवोदित सर्जक पेमा वाइबालगायत साहित्य र सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिन्धुली जिल्लामा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधि, सर्जक तथा साहित्यकारहरूले कविता, लेख तथा अन्य सिर्जना प्रस्तुत गरेका थिए । प्रस्तुत रचनाहरूमा डा. विमलको साहित्यिक साधना, बहुभाषिक सिर्जनशीलता, सांस्कृतिक चिन्तन र नेपाली साहित्यमा उहाँले छाडेको योगदानलाई स्मरण गरिएको थियो । औपचारिक शोकसभाभन्दा फरक ढङ्गले सिर्जनालाई नै श्रद्धाञ्जलीको माध्यम बनाइएको उक्त कार्यक्रमले दिवङ्गत स्रष्टाको कृतित्वलाई नयाँ पुस्तासम्म स्मरण गराइराख्ने सन्देशसमेत दिएको सहभागीहरूको धारणा थियो ।