सिन्धुली, — पाक्न लागेको अन्नबालीमा सुगाको उपद्रव बढेपछि सिन्धुलीका किसान बाली संरक्षणका लागि विभिन्न उपाय अपनाउन बाध्य भएका छन् । विशेषगरी मकै पाक्ने समयमा ठूलो संख्यामा खेतबारीमा पसेका सुगाले घोगा र दाना खाएर नष्ट गर्न थालेपछि किसानको उत्पादन तथा लगानी दुवै जोखिममा परेको छ ।
किसानका अनुसार सुगाको झुण्ड बिहानदेखि साँझसम्म खेतमा आउने गरेको छ । केही समयमै मकैका घोगा तथा दाना क्षति पु¥याउने भएकाले बाली जोगाउन दिनभर खेतमै पहरा दिनुपर्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् । बाली पाक्ने चरणमा सुगाको गतिविधि थप बढ्ने गरेको किसानहरूको अनुभव छ ।
उपद्रव नियन्त्रणका लागि कतिपय किसानले स्थानीय प्रविधिबाट पासो थाप्न थालेका छन् । एक स्थानीय किसानले मकैको बोटसँगै पासोको संरचना बनाएर सुगा समातेका छन् । मकैको घोगातर्फ आकर्षित हुने सुगालाई पासोमा पार्ने उद्देश्यले तयार गरिएको उक्त संरचना स्थानीय ढंगले बनाइएको देखिन्छ ।
सुगाबाट अन्नबाली जोगाउन किसानहरूले खेतमा बस्ने, आवाज निकाल्ने र अन्य घरेलु उपाय प्रयोग गर्दै आएका छन् । तर यस्ता प्रयासले समस्या पूर्ण रूपमा समाधान गर्न नसकेको उनीहरूको भनाइ छ । खेतमा निरन्तर निगरानी गर्नुपर्ने अवस्थाले समय र श्रमसमेत बढाएको किसानहरू बताउँछन् ।
अन्नबालीमा भइरहेको क्षति रोक्न किसानले अपनाएका उपाय व्यावहारिक देखिए पनि वन्यजन्तु समात्ने वा मार्ने कार्यमा प्रचलित कानुन तथा वन्यजन्तु संरक्षणसम्बन्धी व्यवस्थाको पालना आवश्यक हुन्छ । बाली संरक्षणका नाममा वन्यजन्तुलाई अनावश्यक क्षति पुग्न नदिन सचेतना र वैकल्पिक उपायको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कृषकलाई सुरक्षित तथा कानुनी विधिबारे जानकारी गराउन स्थानीय तह, वन कार्यालय र कृषि सम्बन्धी निकायको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूको धारणा छ । बाली जोगाउनु किसानको आवश्यकता भए पनि वन्यजन्तु संरक्षण र कृषि उत्पादनबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायले दीर्घकालीन तथा व्यावहारिक समाधान खोज्नुपर्ने देखिन्छ । स्रोत संकर कुमार कार्की (संकर सौगात) को फेसबुक पेज