सिन्धुली,३० साउन – सिन्धुलीको दुधौली नगरपालिका–५ स्थित कुलुवा दोभानमा पौडी खेल्ने क्रममा खोलाले बगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शनिवार जानकारी दिएको छ ।
दुधौली नगरपालिका–१२ जिनाखु निवासी कुमार योञ्जनका अठार वर्षीय छोरा अशोक योञ्जन शुक्रबार अपराह्न पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी आफ्ना साथी रोशन योञ्जनसँग कुलुवा दोभानमा पौडी खेलिरहेका बेला अचानक खोलाको बहावमा परेको प्रदेश प्रहरीले बताएको छ ।
खोलाले बगाएपछि स्थानीयवासीले अशोकलाई घटनास्थलबाट करिब दुई सय मिटर पूर्व, दुधौली नगरपालिका–५ कै घारीथुम्सीस्थित कमला खोलाको बीचभागमा फेला पारेका थिए । पानीको सतह कम रहेको स्थानमा उनी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले अपराह्न चार बजे टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय डकाहालाई घटनाबारे जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले अशोकलाई खोलाबाट उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएको थियो ।
अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने क्रममा अपराह्न पाँच बजेर दस मिनेटमा अशोकलाई मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ ।