सिन्धुली,२९ साउन – सिन्धुलीस्थित कमलामाई नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले वडा नं. ६ को श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारमा अध्ययनरत सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य विद्यालय परिसरमै सम्पन्न गरेको छ ।
नगरपालिकाले सेवा लिनका लागि विद्यार्थीहरूलाई आफ्नो स्थायी बसोबास रहेको जिल्लासम्म जानुपर्ने अवस्थालाई ध्यानमा राख्दै विद्यालयमै पुगेर नवीकरण सेवा उपलब्ध गराएको जनाएको छ । उक्त विद्यालयमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरू अध्ययनरत रहेकाले भत्ता नवीकरणका लागि घर फर्किनुपर्ने बाध्यता हटाउने उद्देश्यले प्रत्यक्ष सेवा सञ्चालन गरिएको हो ।
विद्यालयमा केन्द्रित सेवा प्रवाहबाट विद्यार्थी, अभिभावक तथा संरक्षकले यात्रा, समय र अतिरिक्त खर्चको बोझबाट राहत पाउने अपेक्षा गरिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा आवश्यक प्रक्रिया विद्यालय परिसरमै पूरा गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटसमेत कम भएको नगरपालिकाको भनाइ छ ।
फरक क्षमता भएका विद्यार्थीहरूको पहुँच, सहजता र आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिएको नगरपालिकाले जनाएको छ । सार्वजनिक सेवा सबै नागरिकसम्म समान रूपमा पुर्याउन स्थानीय तहले अपनाएको यो अभ्यासलाई समावेशी सेवा प्रवाहको उदाहरणका रूपमा हेरिएको छ ।
नगरपालिकाका अनुसार सामाजिक सुरक्षा सम्बन्धी सेवा प्राप्त गर्न भौगोलिक दूरी, शारीरिक अवस्था वा प्रक्रियागत जटिलताका कारण कुनै पनि सेवाग्राही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले लक्षित समूहसम्म प्रत्यक्ष पुग्ने नीति अपनाइएको हो। विद्यालयमै सञ्चालन गरिएको नवीकरण सेवाले विद्यार्थीहरूको पठनपाठनमा पर्ने सम्भावित असरसमेत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
कमलामाई नगरपालिकाले सहज, सुलभ र झन्झटरहित सार्वजनिक सेवा प्रवाह गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरणसम्बन्धी सेवा नागरिकको आवश्यकता र अवस्थाअनुसार थप पहुँचयोग्य बनाउँदै लैजाने नगरपालिकाको प्रतिबद्धता रहेको छ ।