शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शुक्रवार , श्रावण २९, २०८३

सिन्धुली,२९ साउन – सिन्धुलीको तिनपाटन गाउँपालिका–५ वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान सुरु गरेको छ । सेवाग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले वडा कार्यालयको टोली गाउँ–गाउँमै पुगेर सेवा प्रदान गर्न थालेको हो ।

नवीकरण कार्यक्रम भुतिया गाउँबाट प्रारम्भ गरिएको वडा कार्यालयले जनाएको छ । प्रारम्भिक दुई दिनको अभियानमा सहरे, आहाले, रिठ्ठेडाँडा, नयाँबस्ती र छबिसे क्षेत्रका सेवाग्राहीलाई नवीकरणसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

वडा अध्यक्ष भुपालसिंह तामाङ र वडा सचिव स्वयं सेवास्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका नागरिकको नवीकरण प्रक्रिया अघि बढाइरहेका छन् । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउँदा समय, खर्च र आवतजावतको कठिनाइ कम हुने अपेक्षा गरिएको छ ।

वडा कार्यालयका अनुसार बाँकी बस्तीका लाभग्राहीका लागि पनि क्रमशः घुम्ती सेवा सञ्चालन गरिनेछ । आगामी दिनमा अधेरी, शनिजरायोटार हुँदै सोमबार सुनेछ क्षेत्रमा नवीकरण सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थानीय तहले सामाजिक सुरक्षा भत्तासम्बन्धी सेवा पहुँचयोग्य, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन वडास्तरबाटै घुम्ती शिविर सञ्चालन गरेको जनाएको छ । नवीकरणका लागि आवश्यक कागजातसहित तोकिएको स्थान र समयमा उपस्थित हुन वडा कार्यालयले सम्बन्धित लाभग्राहीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया