शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खुर्कोट ट्रायल सेन्टरमा कागजात रोक्दै रकम मागिएको आरोप

शुक्रवार , श्रावण २९, २०८३

सिन्धुली – सिन्धुलीको खुर्कोटस्थित यातायात व्यवस्था कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र ट्रायल प्रक्रियामा कागजात नियन्त्रणमा राखेर रकम मागिएको आरोप सार्वजनिक भएको छ । खुर्कोट ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक बाबुराम खत्रीमाथि ट्रायल उत्तीर्ण भएका सेवाग्राहीका कागजात रोकी रकम असुल्ने प्रयास गरेको आरोप लागेको हो ।

दोलखा निवासी करुणा थापाले सवारी ट्रायल उत्तीर्ण गरेपछि उनको ट्रायल पाससम्बन्धी कागजात र नागरिकता करिब एक महिनासम्म सेन्टरले राखेको परिवारको भनाइ छ । थापाको परिवारका अनुसार खत्रीले ट्रायल पास गरेबापत १५ हजार रुपैयाँ बुझाउनुपर्ने र रकम नदिए कागजात फिर्ता नदिने बताएका थिए ।

आवश्यक कागजात उपलब्ध नभएपछि थापाको वैदेशिक यात्रा प्रभावित हुने अवस्था सिर्जना भएको परिवारले जनाएको छ। पटक–पटक आग्रह गर्दा पनि कागजात नपाएपछि प्रहरीमा जाने तयारी गरिएको थियो । त्यसपछि मात्र सम्बन्धित कागजात फिर्ता गरिएको परिवारको दाबी छ ।

ट्रायल सेन्टरको गतिविधि नजिकबाट नियाल्ने केही व्यक्तिहरूले पनि यस्ता गुनासा यसअघि सुनिँदै आएको बताएका छन् । उनीहरूका अनुसार सुरुमा ट्रायल पास गराइदिने आश्वासन तथा प्रलोभन देखाइने, तर सेवाग्राहीले आफ्नै क्षमतामा सफलता पाएपछि कागजात रोक्ने वा अन्य माध्यमबाट रकम माग्ने प्रयास हुने गरेको आरोप छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यस विषयमा सञ्चालक खत्रीसँग प्रतिक्रिया माग्दा उनले सुरुमा आफूले कसैको कागजात नराखेको र आरोप पुष्टि गर्न प्रमाण आवश्यक पर्ने बताएका थिए । कागजात राखिएको भनिएकी व्यक्तिको नाम उल्लेख गरी प्रश्न गरेपछि उनले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै कागजात फिर्ता गरिएको स्वीकार गरेका थिए ।

खत्रीले आफू पनि पत्रकारिता क्षेत्रसँग परिचित रहेको उल्लेख गर्दै कसैले आफूविरुद्ध केही गर्न नसक्ने आशयको अभिव्यक्ति दिएको बताइएको छ । केही दिनपछि उनले भेटघाटका लागि फोन गरेको तथा यातायातसम्बन्धी विज्ञापन मिलाइदिने प्रस्तावसमेत राखेको स्रोतको भनाइ छ। उक्त प्रस्ताव अस्वीकार गरिएको जनाइएको छ ।

यातायात व्यवस्था कार्यालय खुर्कोटका निमित्त कार्यालय प्रमुख बुद्धिराम शर्माले ट्रायल सञ्चालनस्थलमा कुनै व्यक्ति वा संस्थाले सेवाग्राहीका कागजात लिन वा नियन्त्रणमा राख्न नमिल्ने स्पष्ट पारे। कार्यालयको यसमा कुनै मिलेमतो नरहेको उनको भनाइ छ ।

शर्माका अनुसार ट्रायल सेन्टरसम्बन्धी गुनासाहरू बेला–बेला सुनिने गरेका छन्। तर, कार्यालयमा आधिकारिक उजुरी परेमा आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । स्रोत सिन्धुली मंसिर चार

प्रतिक्रिया